काठमाडौं । बोधनारायण श्रेष्ठले देशभरका किसानले रासायनिक मलको अभावका कारण खेतीपातीमा गम्भीर समस्या भोगिरहेको बताउनुभएको छ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले धादिङ जिल्लामा प्रमुख जिल्ला अधिकारीसहित सम्बन्धित निकायसँग भएको छलफलमा मल वितरण प्रभावकारी नभएको गुनासो व्यापक रूपमा आएको जानकारी दिनुभयो। उहाँका अनुसार मल वितरणमा पक्षपात भएको, आफन्त तथा पहुँचवालालाई प्राथमिकता दिइएको र वास्तविक किसानले आवश्यक परिमाणमा मल नपाएको गुनासो आएको हो।
सांसद श्रेष्ठले धादिङमा धान खेतीका लागि आवश्यक २ हजार ३५२ मेट्रिक टन रासायनिक मलमध्ये हालसम्म करिब २७ प्रतिशत मात्र वितरण भएको बताउनुभयो। प्रदेश सरकारले निर्धारण गरेको कोटाअनुसार मात्रै मल आपूर्ति हुँदा किसानको आवश्यकता पूरा हुन नसकेको उहाँको भनाइ थियो।
उहाँले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय गरी देशभर सहज रूपमा मल ढुवानी र वितरणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभयो। साथै, मल आपूर्ति र वितरण व्यवस्थापन सुधारका लागि भएका प्रगतिबारे स्पष्ट जानकारी नपाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो।
सांसद श्रेष्ठले किसानका समस्या जिल्ला समन्वय समिति, कृषि विकाससम्बन्धी निकाय तथा सम्बन्धित क्षेत्रका सांसदहरूले नियमित रूपमा अनुगमन र जानकारी राख्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो।







