इनरुवा : सुनसरीको कोशी गाउँपालिका–८ केराबारीस्थित पूर्व–पश्चिम राजमार्गमा बुधवार राति पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

भण्टाबारीबाट लौकहीतर्फ आउँदै गरेको प्र १–०२–००२ च ४८३१ नम्बरको खाली पिकअप राति करिब १०ः५० बजेतिर आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक मोरङको रंगेली नगरपालिका–३ दर्वेशाका ४२ वर्षीय पदम राई गम्भीर घाइते भएका थिए ।

उद्धार गरी जिल्ला अस्पताल इनरुवा लगिए पनि राति करिब ११ः५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरिदिएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

दुर्घटनामा पिकअपमा सवार सिराहाको लहान नगरपालिका घर भई विराटनगर महानगरपालिका–१३ मा बसोबास गर्दै आएका ३७ वर्षीय सन्तोषकुमार साह घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको र इनरुवामै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि सडकको बीच भागमा पल्टिएको पिकअप हटाइएको छ । घटनास्थल भण्टाबारीबाट करिब दुई किलोमिटर पूर्वमा पर्छ । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया