सुनसरी : सुनसरीको गढी गाउँपालिका–१, मदेली झण्डा चोकबाट प्रहरीले चाइनिज पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।

मंगलबार राति करिब १ः२० बजे अस्थायी प्रहरी चौकी चाँदबेलाबाट प्रहरी सहायक निरीक्षक गणेश थापाको नेतृत्वमा खटिएको गस्ती टोलीले पैदल हिँडिरहेका दुई जनामाथि शंका लागेपछि जाँच गरेको थियो।

जाँचका क्रममा मोरङको विराटनगर महानगरपालिका–१७, रानी बस्तीका ५१ वर्षीय नुर महोमद खानको साथबाट एक थान चाइनिज पेस्तोल र त्यसमा लोड गरिएको तीन राउन्ड गोली फेला परेको प्रहरीले साझा सरोकारलाई जनाएको छ।

घटनास्थलबाट नुर महोमदसँगै विराटनगर–८, अशोक चोकका ३२ वर्षीय इम्रान खानलाई पनि नियन्त्रणमा लिइएको छ। दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुहवीमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया