विराटनगर: मोबाइल चोरी गरेको आरोप लगाउँदै दुई जना बालबालिकालाई मन्दिरको फलामे पिलरमा बाँधेर यातना दिएको आरोपमा मोरङ प्रहरीले दुई युवालाई पक्राउ गरेको छ। कानुन आफ्नै हातमा लिएर बालबालिकामाथि गरिएको व्यवहारले स्थानीय तहमा गम्भीर प्रश्न उठाएको छ।
मोरङको उर्लाबारी नगरपालिका–३ स्थित गुरु गोरक्षनाथ मन्दिर परिसरबाट सोमबार राति करिब ८ बजे प्रहरीले ७ वर्षीय रवि उराउ र ६ वर्षीया चाँदनी उराउलाई प्लास्टिकको डोरीले हातखुट्टा बाँधिएको अवस्थामा उद्धार गरेको हो। दुवै बालबालिका उर्लाबारी–३ निवासी दुखीलाल उराउका सन्तान हुन्।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी सन्तोष श्रेष्ठका अनुसार मोबाइल चोरी गरेको आशंकामा झापाको शिवसताक्षी नगरपालिका–३ का २० वर्षीय निशान कार्की र १८ वर्षीय सुमन बुढाथोकीले बालबालिकालाई मन्दिरको फलामे पिलरमा बाँधेर राखेका थिए।
घटनाबारे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी सहायक निरीक्षक ९असई० चन्द्रबहादुर भण्डारीको नेतृत्वमा पुगेको टोलीले तत्काल दुवै बालबालिकाको उद्धार गरेको थियो। डोरी खोलेर उनीहरूलाई सुरक्षित रूपमा आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक स्वास्थ्य परीक्षणमा दुवै बालबालिकाको खुट्टामा सामान्य निलडाम देखिएको छ। अन्य गम्भीर चोटपटक भने नदेखिएको बताइएको छ।
घटनामा संलग्न आरोपित कार्की र बुढाथोकीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ। इन्स्पेक्टर नवीन वलीको नेतृत्वमा घटनाबारे विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
डीएसपी श्रेष्ठले कुनै पनि व्यक्तिमाथि चोरीको आशंका भए पनि कानुन हातमा लिएर दुर्व्यवहार वा यातना दिन नपाइने स्पष्ट पारे। ूकसैमाथि चोरीको आशंका भए पनि कानुन हातमा लिएर दुर्व्यवहार वा यातना दिन पाइँदैन। त्यसमाथि बालबालिकालाई बाँधेर यातना दिइएको विषय गम्भीर छ। घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको छ,ू उनले भने।
बाल अधिकारसँग सम्बन्धित जानकारहरूका अनुसार कुनै पनि आरोप वा आशंकाको आधारमा बालबालिकामाथि शारीरिक वा मानसिक यातना दिनु कानुनविपरीत मात्र होइन, बाल अधिकारको गम्भीर उल्लंघन पनि हो। प्रहरीले घटनामा संलग्न व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।
– प्रदेश खवरको सहयोगमा







