बुटवल । लुम्बिनी प्रदेशअन्तर्गत पाल्हीनन्दन गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले विकास, सुशासन, आत्मनिर्भरता र समृद्धिलाई जोड दिएको छ । यसका लागी गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ५१ करोड १२ लाख २ हजार रुपैयाँको बजेट ल्याएको छ ।
गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारीले गाउँसभामा प्रस्तुत गरेको बजेटमा गाउँपालिकाले कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार, खानेपानी, पर्यटन, सुशासन तथा विपद् व्यवस्थापनलाई पनि आगामी वर्षको प्रमुख प्राथमिकतामा राखिएको छ । बजेटमा कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै ‘एक वडा–एक उत्पादन’ कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, कृषकलाई उन्नत बीउबिजन, सिँचाइ, कृषि यान्त्रिकीकरण तथा बजारीकरणमा सहयोग गर्ने व्यवस्था गरिएको छ । पशुपालन तथा कृषि उद्यमलाई समेत प्रोत्साहन गर्ने नीति लिइएको छ । स्वास्थ्यतर्फ पाल्ही स्वास्थ्य चौकीलाई स्तरवृद्धि गरी १५ शैयाको अस्पतालमा रूपान्तरण गर्ने योजना समावेश गरिएको छ । आधारभूत स्वास्थ्य सेवा, मातृ तथा शिशु स्वास्थ्य, औषधि व्यवस्थापन तथा स्वास्थ्य संस्थामा डिजिटल प्रणाली विस्तार गर्ने कार्यक्रम पनि बजेटमा समेटिएको छ । खानेपानी तथा पूर्वाधार विकासअन्तर्गत ‘एक घर–एक धारा’ अभियान सञ्चालन गर्ने, सडक स्तरोन्नति, कालोपत्रे, पुल निर्माण तथा राजमार्गसँगको पहुँच विस्तार गर्ने योजना अघि सारिएको छ । पर्यटन विकासका लागि नन्दन ताल, पाल्ही मन्दिर तथा लोहरौली शिव मन्दिरलगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण, सौन्दर्यीकरण र पूर्वाधार विकास गर्ने नीति लिइएको गाउँपालिकाले जनाएको छ ।
सामाजिक विकासतर्फ गृहिणी महिला स्वरोजगार कार्यक्रम, बाल कोष, लैङ्गिक हिंसा निवारण कोष तथा हिंसापीडितका लागि अल्पकालीन आश्रय सेवा सञ्चालन गर्ने कार्यक्रम समावेश गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गौडका अनुसार गाउँपालिकाका स्वास्थ्य संस्थामा डिजिटल हाजिरी प्रणाली लागू गरिने, भूमि प्रशासन तथा घरजग्गा दर्ता सेवा स्थानीय तहबाटै सञ्चालन गर्ने र आयोजना बैंक अद्यावधिक गरिनेछ । झरही, तुरिया र धनेवा खोलामा बाढी नियन्त्रण तथा तटबन्ध निर्माणका कार्यक्रम पनि बजेटमा समावेश गरिएको छ । शिक्षातर्फ विद्यालयको शैक्षिक गुणस्तर सुधार, सूचना प्रविधिमैत्री शिक्षा, सीपमूलक तालिम तथा उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
गाउँपालिकाले चालूतर्फ ३२ करोड २५ लाख ७२ हजार रुपैयाँ र पुँजीगततर्फ १८ करोड ८६ लाख ३० हजार रुपैयाँ विनियोजन गरेको छ । बजेटको स्रोत व्यवस्थापन गर्न आन्तरिक आम्दानी ८८ लाख ४४ हजार रुपैयाँ, संघीय वित्तीय समानीकरण अनुदान ११ करोड ३४ लाख रुपैयाँ, संघीय सशर्त अनुदान २१ करोड ६ लाख रुपैयाँ, संघीय राजस्व बाँडफाँट ९ करोड ८० लाख रुपैयाँ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यस्तै संघीय समपूरक अनुदान ३० लाख रुपैयाँ, प्रदेश वित्तीय समानीकरण अनुदान ७८ लाख ९० हजार रुपैयाँ, प्रदेश ससर्त अनुदान १ करोड ५० हजार रुपैयाँ, प्रदेश राजस्व बाँडफाँड १ करोड ७४ लाख १८ हजार रुपैयाँ, प्रदेश समपूरक अनुदान ७० लाख रुपैयाँ तथा गत आर्थिक वर्षको बैंक मौज्दात ३ करोड ५० लाख रुपैयाँ रहेको उल्लेख गरिएको छ ।
बजेटले पाल्हीनन्दन गाउँपालिकालाई दिगो विकास, आत्मनिर्भर अर्थतन्त्र, गुणस्तरीय सेवा प्रवाह र सुशासनको मार्गमा अघि बढाउने स्पष्ट आधार तयार गरेको जनाईएको छ । विकासलाई केन्द्रमा राखेर तयार गरिएको यो बजेट प्रभावकारी रूपमा कार्यान्वयन हुन सके पाल्हीनन्दन गाउँपालिकाले स्थानीय विकास, आर्थिक समृद्धि र नागरिकको जीवनस्तर सुधारका क्षेत्रमा नयाँ उपलब्धि हासिल गर्ने विश्वास गरिएको छ ।







