विनय कर्ण
कल्याणपुर (सप्तरी), असार २३ गते । सप्तरी प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा सात वर्षदेखि फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बोदेबरसाइन नगरपालिका वडा नम्बर ४ घर भएका २५ वर्षीय रुन्जे सदा रहनुभएको हो ।
उहाँलाई श्रीमतिको हत्याको आरोपमा शनिबार बोदेबरसाइन ४ स्थित सिलहटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिनुभयो ।
२०७६ पुस १७ गते रुन्जे सदाले श्रीमती २२ वर्षीया गीता देवी सदालाई कुटपिट गरी घाँटी थिचेर हत्या गरेको आरोप छ । त्यसपछि घटनालाई आत्महत्याजस्तो देखाउन डोरीमा झुन्ड्याएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सदा दम्पतीबाट जन्मिएकी छोरीको असामयिक मृत्यु भएपछि त्यसै विषयलाई लिएर श्रीमान–श्रीमतिबिच घरायसी विवाद बढ्दै गएको र सोही क्रममा गीताको हत्या भएको आरोप लगाइएको छ । घटनापछि फरार रहनुभएका रुन्जेको खोजी गर्ने क्रममा प्रहरीले उहाँलाई पक्राउ गरेको हो ।
मृतकका बुवा सुकराती सदाले दिएको किटानी जाहेरीका आधारमा कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो ।
पक्राउ परेका सदाविरुद्ध अदालतबाट असार २२ बाट लागू हुने गरी तीन दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







