शंकर केसी
सल्यान, असार २३ गते । सल्यानको कालिमाटी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५३ करोड ४५ लाख ३० हजार रुपियाँको बजेट, नीति तथा कार्यक्रम पारित गर्दै २०औँ गाउँसभा सम्पन्न गरेको छ।
गत असार १० गते बस्ने तय भएको गाउँसभा गाउँपालिका अध्यक्ष दानबहादुर केसी मोटरसाइकल दुर्घटनामा घाइते भएपछि स्थगित गरिएको थियो। अध्यक्ष उपचारपछि गाउँ फर्किएसँगै सोमबार गाउँसभा सम्पन्न भएको हो।
गाउँसभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले स्थानीय तह स्थापना हुँदाका बेला सल्यानकै विकट तथा विकासका दृष्टिले पछाडि परेको क्षेत्रका रूपमा चिनिएको कालिमाटी गाउँपालिका अहिले सडक सञ्जाल विस्तार, विद्युत् पहुँच, शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, सिँचाइ, कृषि, पशुपालन, पर्यटन तथा अन्य पूर्वाधार विकासका क्षेत्रमा उल्लेखनीय प्रगति गर्न सफल भएको बताउनुभयो।
अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै उहाँले हालसम्मको उपलब्धिमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने विगतदेखि वर्तमानसम्मका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज, विकास साझेदार, सञ्चारकर्मी तथा गाउँपालिकावासीप्रति आभार व्यक्त गर्नुभयो।
गाउँसभामा उपाध्यक्ष शनसिल्ता वली डिसीले प्रस्तुत गर्नुभएको बजेट तथा आर्थिक ऐन र वडा नं. ५ का अध्यक्ष टोपबहादुर कार्कीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम विस्तृत छलफल र आवश्यक संशोधनपछि सर्वसम्मत रूपमा पारित गरिएको हो।
गाउँसभा सचिव तथा प्रमुख प्रशासकीय अधिकृत हर्कबहादुर वलीका अनुसार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ ११ करोड २२ लाख रुपियाँ, राजस्व बाँडफाँटबाट १४ करोड ७२ लाख ३९ हजार रुपियाँ, समपूरक अनुदानबाट एक करोड ९३ लाख रुपियाँ तथा सशर्त अनुदानबाट १८ करोड ७५ लाख रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ।
त्यस्तै कर्णाली प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ एक करोड ३३ लाख २८ हजार रुपियाँ, राजस्व बाँडफाँटबाट २१ लाख ११ हजार रुपियाँ, सशर्त अनुदानबाट दुई करोड तीन लाख ५२ हजार रुपियाँ, समपूरक अनुदानबाट एक करोड १८ लाख रुपियाँ तथा विशेष अनुदानबाट ५० लाख रुपियाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ। साथै आन्तरिक राजस्वबाट ५७ लाख रुपियाँ र बैंक मौज्दातबाट एक करोड रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ।
पारित नीति तथा कार्यक्रममा कृषि उत्पादन तथा व्यवसायीकरण, खानेपानी र सिँचाइ, शिक्षा, स्वास्थ्य, सडक तथा अन्य पूर्वाधार विकास, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सुशासन, डिजिटल सेवा विस्तार तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राखिएको छ।
अध्यक्ष केसी उपचारपछि असार १४ गते नेपालगन्जबाट गाउँपालिकामा फर्किएपछि गाउँसभाको तयारी पूरा गरी सोमबार अधिवेशन सञ्चालन गरिएको हो।
गाउँसभाले न्यायिक समिति, सामाजिक विकास समिति तथा अन्य विभिन्न समितिका प्रतिवेदनसमेत पारित गरेको प्रमुख प्रशासकीय अधिकृत यज्ञ केसीले जानकारी दिनुभयो।







