काठमाडौं, २२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले बिपदमा सरकार नदेखिएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै कर्णाली नदीमा फोर्स गाडी बेपत्ता हुदाँ ६ जना मानिस अझै नभेटिएको उल्लेख गर्दै बिपदमा सरकारको असफलता देखिएको उनको आरोप छ ।
‘गृहमन्त्रीले बिपदमा हेलिकोप्टर तयार छ भन्नु भएको थियो तर सरकारको त्यो हेलिकोप्टर कर्णालीमा गएन, कसै गरी पनि उद्दारका लागि पठाउनु भन्दा नमाने पछि हामी आफैले भाडाको हेलिकोप्टर पठाउने काम गर्नै परयो’ उनले संसदमा भने, ‘नदीको बिचमा मानिसहरू जीवनको भिख मागिरहेका थिए, त्यही बेला आकाशमा हेलिकप्टर देखियो तर, त्यो उद्धारका लागि थिएन, केन्द्रीय मन्त्रीको सवारीका लागि थियो तर, कर्णालीका निरीह नागरिक भने उद्धार नपाएर नदीमा बगिरहेका थिए।’







