काठमाडौँ, असार २२ गते । सभामुख डोलप्रसाद (डिपी) अर्यालले सामुदायिक विद्यालयलाई सबै विद्यार्थी र अभिभावकको रोजाइको गन्तव्यका रूपमा विकास गर्न सरकार लागिपरेको बताउनुभएको छ । चन्द्रागिरि नगरपालिका–१३ स्थित पुरानो नैकापमा रहेको कङ्काली माध्यमिक विद्यालयको ४३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्यालले सामुदायिक विद्यालय सुधार अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
सरकारले आगामी आव २०८३/८४ का लागि सामुदायिक विद्यालयको अवस्थाबारे अध्ययन गर्न मात्रै एक अर्ब रुपियाँ बजेट छुट्याएको बताउँदै उहाँले एक वर्षमा ती विद्यालयको समग्र पक्षको अध्ययन गर्ने जानकारी दिनुभयो । साथै आगामी वर्षदेखि विद्यालय सुधारको अभियानलाई तीव्र रूपमा अघि बढाइने पनि उहाँले सो अवसरमा बताउनुभयो ।
हरेक विद्यालयमा विद्यार्थीले खुसीका साथ बिताउन आवश्यक पर्ने सम्पूर्ण वातावरण उपलब्ध हुनुपर्ने सो अवसरमा उहाँले बताउनुभयो । यस अभियानमा आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयमा गरिएको लगानी सही ठाउँमा गरिएछ भन्ने भावना जागृत गराउन सरकार तयार छ ।” सरकारी विद्यालयलाई पनि निजी क्षेत्रबाट सञ्चालित विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने गरी विकास गरिने उहाँले बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णु पनेरूले कङ्काली विद्यालयलाई अहिलेको स्थानमा ल्याउन स्थानीय समाजसेवी, चन्दा तथा जग्गादाता, स्वदेशी तथा विदेशीको पनि महत्वपूर्ण सहयोग रहेको बताउनुभयो । वार्षिकोत्सवका अवसरमा स्कुलले विद्यालयमा विशिष्ट योगदान दिएका शिक्षक, विद्यार्थी, समाजसेवीलगायतलाई सम्मान गरिएको थियो । विसं २०४० मा चार विद्यार्थीबाट पढाइ सुरु गरिएको यस विद्यालयमा अहिले एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।







