अनुज सापकोटा

विश्व पर्यटन सङ्गठनले एक रात बिताउन भनेर घरबाट टाढा रहने व्यक्तिलाई पर्यटक भनेको छ ।पर्यटन र पर्यटकको परिभाषालाई संकुचित दायराभित्र राख्न सकिँदैन । दुवैको अर्थ विशाल र विस्तृत छ । सामान्य भाषामाभन्नु पर्दा मनोरञ्जन, मन बहलाउन, व्यापार, शैक्षिक, अन्वेषवण, शोध, अनुसन्धान, खोज वा अन्य उद्देश्यले आफ्नो निवासबाट बाहिर गई २४ घण्टाभन्दा बढी र एक वर्षभन्दा कम समयका लागि गरिने यात्रालाई पर्यटन भनिन्छ। उद्देश्य प्राप्तिका लागि वा त्यसै घुमफिर गर्ने व्यक्तिलाई पर्यटक भनिने गरिन्छ भने पर्यटकलाई लक्षित गरी गरिने यातायात, आवास, मनोरञ्जन,घुमफिर, खानपान लगायतका विविध गतिविधिको व्यवस्थापन पर्यटन उद्योगले गर्दछ ।

आधुनिकतासँगै कामको बोझ बढ्न थाल्यो । कामको बोझले अधिकांश व्यक्तिको दैनिक दिनचर्या तनावपूर्ण बन्दै गएको अवस्थामा तनाव व्यवस्थापन, विभिन्न स्थान, स्थल, सम्पदालाई नजिकबाट नियाल्ने र केहि जान्ने जिज्ञासा, रमाइलोका लागि स्वदेश तथा विदेशका विभिन्न प्राकृतिक रमणीय स्थल, दरबार स्थल, धार्मिक, सांस्कृतिक एवं पुरातात्त्विक महत्वको स्थान, सम्पदा क्षेत्र, ऐतिहासिक क्षेत्र, हिमाल, पहाड, समुद्र आदि घुम्न जाने प्रचलनको विकास हुन थालेको छ। सरल भाषामा भन्नु पर्दा घुमाइ नै पर्यटन हो । पर्यटनमा आयव्ययको हिसाब गरिँदैन, केवल मनोरञ्जन वा आनन्दको अनुभूति लिने, कुनै नयाँ जानकारी, उद्देश्य वा ज्ञान प्राप्त गरिन्छ। पछिल्लो समय आन्तरिक र बाह्य पर्यटनमा तिव्रगतिमा वृद्धि भइरहेको पाइन्छ ।

नेपाल प्राकृतिक रूपले धनी देश हो । यहाँको प्राकृतिक विविधता बेजोड छ । नेपालमा जता हे¥यो त्यतै मनोरम प्राकृतिक ठाउँ छ । नेपालमा बग्ने गरेको शितल हावा, लाग्ने गरेको पारिलो घाममा समेत पर्यटनको रौनक र छनक छ । नेपाललाई प्राकृतिक आर्शिवाद प्राप्त छ । नेपालधार्मिक, सांस्कृतिक, पुरातात्त्विक सम्पदा, पर्यावरणीय प्राकृतिक सौन्दर्यले भरिएको देश हो। जैविक विविधतायुक्त नेपालमाहिमाल, पहाड र तराईको संगम छ । कलकल बग्ने नदी, अविरल उच्चस्थलबाट खस्ने झरना, शान्त र रमणीय तालतलैयाले देश धनी छ। यस्तो अद्भुत प्राकृतिक प्राकट्य विश्वका कमै देशमा छ । नेपालमा आन्तरिक तथा बाह्य पर्यटनको सम्भावना प्रचुर छ ।

पर्यटन देशको आर्थिक विकासको मेरूदण्ड बन्न सक्छ । पर्यटनलाई व्यवस्थित पार्दै देशको समृद्धिमा पर्यटन उद्योगले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। भौगोलिक तथा प्राकृतिक सौन्दर्यले भरिएको नेपालले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सक्छ । पर्यटनबाट प्रशस्तै विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।

पर्यटकीय हिसाबले हेर्ने हो भने पर्यटनका लागि कोशी प्रदेश अरू सबै प्रदेशभन्दा उर्वर भूमि होभन्दा कुनै अतियोशति नहोला । नेपालको पूर्वी क्षेत्रमा कुल २५ हजार ९०५ वर्ग किलोमिटरमा कोशी प्रदेश फैलिएको छ । प्रकृतिको आर्शिवाद यति वृहङ्गम छ की कोशी प्रदेश प्राकृतिक सुन्दरताको खानी नै हो । समथर जमिनदेखि उच्च हिमालसम्मको प्राकृतिक विविधताले ओतप्रोत कोशी प्रदेशले पर्यटनका लागि प्रचुर सम्भावना बोकेको छ ।

भौगोलिक रूपले कोशी प्रदेश हिमाल, पहाड, भित्री मधेश र तराई मिलेर बनेको छ । सबैभन्दा होचो भुभाग समुद्री सतहबाट ५८ मिटरको उचाइमा रहेको केचनाकवलदेखि ८८४८ मिटर संसारकै अग्लो हिमाल सगरमाथा कोशीमा नै पर्दछ । कोशी प्रदेशको कुल भुभागमध्ये ४०.२९ प्रतिशत हिमाली क्षेत्र, ३३.३५ प्रतिशत पहाडी क्षेत्र, ७.९६ प्रतिशत भित्री मधेश र १८.२१ प्रतिशत क्षेत्र तराईले ओगटेको छ । प्राकृतिको अनुपम बरदान कोशीलाई प्राप्त छ । प्राकृतिक छँटा र क्षेत्रले कोशी प्रदेश भरिएको छ । कोशीमा यतिविघ्न प्राकृतिक अवलोकनका क्षेत्र छन् जुन विश्वको अन्य कुनै ठाउँमा छैन ।

तथ्याङ्क समन्वय कार्यालय मोरङले प्रकासित गरेको कोशी प्रदेशको तथ्याङ्कीय रूपरेखा २०८२ बमोजिम सगरमाथाको अलावा ८ हजार ५८६ मिटर अग्लो कंचनजंघा, ८ हजार ५१६ मिटर अग्लो लोत्से, ८ हजार ५०५ मिटर अग्लो यालुङ्ग काङ्ग, ८ हजार ४६३ मिटर अग्लो मकालु र ८ हजार २०१ मिटर अग्लो प्रमुख हिमालले कोशी प्रदेश प्राकृतिक विरासतमा धनी छ । कोशी प्रदेशको जिल्लाहरूमध्ये ताप्लेजुङमा २ हजारदेखि ५ हजार मिटरमाथिको उचाईका ३ सय ८० वटा ताल छन् । पाँचथरमा ५ सयदेखि ४ हजार ९९९ मिटर उचाईमा १७ वटा ताल छन् । ईलाममा १ सय मिटरदेखि ४ हजार ९९९ मिटर उचाईसम्ममा ३० वटा ताल छन् ।

झापा जिल्लामा १ सय मिटरभन्दा कमदेखि ४ सय ९९ मिटरको उचाईसम्ममा १ सय ३६ वटा ताल छन् । कोशी प्रदेशको राजधानी विराटनगर रहेको मोरङमा १ सय मिटरभन्दा कमदेखि १ हजार १९९ मिटरको उचाईसम्ममा १ सय ८४ ताल छन् । सुनसरीमा १सय मिटरभन्दा कमदेखि ४ सय ९९ मिटरको उचाईसम्ममा ६९ वटा ताल छन् । यस्तै धनकुटामा ५ सय मिटरदेखि १ हजार ९९९ मिटरको उचाईसम्ममा ४ वटा ताल छन् । ते¥हथुममा ५ सय मिटर उचाईदेखि २ हजार ९९९ मिटरको उचाईसम्ममा ४ वटा ताल रहेका छन् । संखुवासभामा ५ सय मिटरदेखि ५ हजार मिटरमाथिका उचाईमा १ सय ५९ ताल छन् । भोजपुरमा ५ सय मिटरदेखि ४ हजार ९९९ मिटर उचाईसम्ममा ७ वटा ताल छन् भने सोलुखुम्बुमा ५ सय मिटरदेखि ५ हजार मिटरमाथिका उचाईमा ३ सय ३९ ताल छन् । खोटाङ्गमा ५ सय मिटरदेखि ४ हजार ९९९ मिटर उचाईसम्ममा १० वटा ताल रहेको छ भने उदयपुरमा १ सय मिटरदेखि १ हजार ९९९ मिटरको उचाईमा १४ वटा ताल छ । ओखलढुंगामा ताल छैन । प्राकृतिक श्रोतमध्येको एक वनको कुरा गर्दा कोशी प्रदेशमा ३ हजार ७२० वटा सामुदायिक वन, १ हजार १२१ कबुलियती वन, ४६ वटा धार्मिक वन, ४ वटा साझेदारी वन र १ वटा सरकारद्वारा व्यवस्थित वन छ ।

कञ्चनजंघा संरक्षण क्षेत्र, मकालु वरूण राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु वन्यजन्तु आरक्षले कोशी प्रदेशको जैविक विविधताको संरक्षणमा उल्लेख्य योगदान पु¥याउँदै आएको छ । पर्यावरणीय विविधताका लागि बर्जु ताल, माईपोखरी, कोशी टप्पु, तीनजुरे–मिल्के– जलजले, तालतलैया, बेतना सिमसार जस्ता अन्गिनत प्रसिद्ध स्थान कोशी प्रदेशमा छ जसले लाखौको संख्यामा आन्तरिक र बाह्य पर्यटकलाई सजिलै तान्न सक्ने लियाकत राख्दछ । कोशी प्रदेशमा धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पुरात्तात्विक महत्वका धेरै ठाउँ छन् । किरात राजाहरूदेखि ऐतिहासिक महाभारतकालिन विराट राजा दरबारले कोशी प्रदेशको आय आर्जनमा ठूलो योगदान गर्ने देखिएको छ । कोशी प्रदेशका धार्मिक एवं पुरात्तात्विक महत्वका पिण्डेश्वर, दन्तकाली, हलेसी, पाथीभरा, बराहक्षेत्र, हलेसी, किच्चकवध, विराट पोखरी जस्ता क्षेत्रले पर्यटकलाई आकर्षित गर्नेमा कुनै शंका छैन । पर्यटन क्षेत्रमा कोशी प्रदेशलाई प्राप्त अवसरको जतिसुकै बखान गरेपनि कम हुन्छ । पर्यटन उद्योगलाई व्यवस्थित गर्न सकियोभनेमात्रपनि कोशी प्रदेश अन्य प्रदेशको तुलनामा सबैभन्दा समृद्ध बन्न सक्ने छ ।

कोशी प्रदेशमा पर्यटनको क्षेत्रमा विकासका सम्भावना बोकेका थुप्रै क्षेत्र छन् । कोशी प्रदेश सरकार प्रदेशमा पर्यटन प्रवद्र्धनका लागि सक्रियताकासाथ लागि परेको छ । पछिल्लो समय परम्परागतभन्दा पनि साहसिक पर्यटनतर्फ उल्लेख्य संख्याका पर्यटक आकर्षित हुँदै गएको पाइन्छ । यो परिपेक्षमा साहसिक पर्यटनको कोशी प्रदेशमा प्रशस्तै सम्भावना छ । विदेशी पर्यटकलाई कोशी प्रदेशमा आकर्षण गर्न सकिने थुप्रै खेल कोशी प्रदेशमा सञ्चालन गर्न सकिन्छ जसबाट विदेशी मुद्राको आयआर्जन भई प्रदेश समृद्ध बन्न सक्छ । बञ्जी जम्पिङ्ग, स्काई वाक, ¥याफ्टिङ, क्यानोनिङ , ग्लाइडिङ, ब्यालुनिङ, रक क्लाइम्बिङ्ग जस्ता साहसिक खेलसञ्चालन गरी पर्यटकलाई मनोरञ्जन दिन सकिन्छ। यस क्षेत्रमा धार्मिक पर्यटनको प्रशस्तै सम्भावना रहेको हुँदा आन्तरिक र बाह्य पर्यटक दुवै आकर्षित गर्न सकिन्छ । कोशी प्रदेशमा धार्मिक पर्यटनलाई संस्थागत गर्नका लागि आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सकिन्छ । धार्मिक लगायतका पर्यटकीय स्थलमा पूर्वाधारसहितको सुविधासम्पन्न संरचनाको विकास गर्न सके अत्याधिक संख्यामा भारतीय पर्यटकलाई भित्राउन सकिन्छ । यसबाट मनग्ये आम्दानी गर्न सकिन्छ । कोशी प्रदेशका अधिकांश धार्मिक स्थलसँग किराँत र बौद्ध दर्शनसमेत जोडिएको हुँदा आन्तरिककासाथै उत्तरतर्फको तिब्बत, चीनबाट समेत ठूलो संख्यामा पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।

पर्यटकको जति बढी आगमन हुन्छ त्यति नै कोशी प्रदेशमा होटल, रिसोर्ट, रेस्टुराँ, ट्राभल एजेन्सी, टुर अप्रेटर, मसाज स्पा, होमस्टे सञ्चालन गरी विदेशी मुद्रा आर्जन गर्न सकिन्छ।कोशी प्रदेशमा रहेको विभिन्न जातजातीको कला, संस्कृति, परम्परा, नाचगान, बाजागाजा, जात्रा, पर्व, वेशभूषालाई पर्यटकको आकर्षणका रूपमा प्रयोग गर्न सकिन्छ । कोशी प्रदेशमा पर्यटनलाई संस्थागत गर्न र पर्यटकलाई आकर्षित गर्न वर्ष २०८२ लाई कोशी प्रदेश पर्यटन वर्षको रूपमा मनाउने घोषणा गरियो । यसै क्रममा कोशी प्रदेश सरकारले २०८२ साललाई कोशी पर्यटन वर्ष २०८२ को रूपमा मनाएको छ । यसको मुख्य नारा ‘कोशीको गौरव, हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान’ तय गरिएको थियो ।

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘ हाब्रे’ अर्थात रेड पाण्डाको मस्कट प्रयोग गरिएको थियो । कोशी प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भ तत्कालिन उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह श्रेष्ठले गर्नु भएको थियो । कोशी प्रदेश सरकारले कोशी प्रदेशमा रहेका अनेकौं पर्यटकीय सम्भावनालाई पहिचान गर्न पर्यटन वर्ष मनाउन शुरू गरेको हो । पर्यटन वर्षबाट सम्भावित पर्यटकीय स्थल, क्षेत्र र आयामको पहिचान हुने, त्यहाँ आवश्यक संरचना एवं पूर्वाधारको विस्तार गरिने, प्रचारप्रसार गरिने र अधिकसेअधिक पर्यटकलाई भ्रमण गराई प्रदेशको आयश्रोतमा समेत वृद्धि गर्ने इमान्दार प्रयास कोशी प्रदेश सरकारले चालेको देखिन्छ ।

कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले पर्यटनलाई नयाँ उचाईमा पु¥याउन सक्रिय भूमिका खेल्नु भएको छ । वहाँले आफ्नो १सय दिनको कार्यकालको १ सय वटा कार्य सार्वजनिक गर्नु भयो जहाँपर्यटनको विकास एवं प्रवद्र्धनका लागि उल्लेखनीय इमान्दार प्रयास गरिएको छ । ओखलढुंगाको हर्कपुरमा पर्यटन सूचना केन्द्रको स्थापनादेखि अन्तरप्रदेश पर्यटन प्रवद्र्धनका लागि कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालय र गण्डकी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालयबिच सम्झौता पत्रमा हस्ताक्षरजस्ता महत्वपूर्ण कार्य रहेको छ । विराटनगर–पोखरा सिधा हवाई सेवा तथा पर्यटकीय बस सेवा सञ्चालन, चितवन एवं जनकपुरमा पर्यटन व्यवसायीबिच अन्तर प्रदेश पर्यटन प्रवद्र्धन अन्तर्गत अन्र्तक्रिया, नेपाल पर्यटन बोर्ड र कोशी प्रदेश पर्यटन वर्ष २०८२ सचिवालयबिच गन्तव्य विकास ब्राण्डिङ्ग तथा कोशी प्रदेशको राष्ट्रिय र अन्र्तराष्ट्रिय प्रवद्र्धनलाई सुदृढ गर्न सहकार्य गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर, कोशी प्रदेशको होमस्टेको प्रवद्र्धन एवं विभिन्न प्रदेशका होमस्टे व्यवसायीलाई कोशी प्रदेशको होमस्टे अवलोकन भ्रमण कार्यक्रम संचालनजस्ता पर्यटन प्रवद्धनात्मक कार्यक्रम सञ्चालन गरिएको छ ।

कोशी प्रदेशमा पर्यटन विस्तार एवं प्रवद्र्धनका लागि थुपै काम भएका छन् । सन्दकपुरपालिकामा रेड पाण्डा महोत्सव, कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत कोशी प्रदेशमा पर्यटन प्रवद्र्धनका लागि १३० विभिन्न इभेन्टको सञ्चालन, कोशी टप्पुमा कोशी महोत्सव, उदयपुरको बेलाकामा प्याराग्लाइडिङ्ग, पदमार्ग÷टे«लमा साइनेज विकास प्रवद्र्धन र सगरमाथा, मकालु क्षेत्रमा प्रचारप्रसार, पर्यटन विकास परियोजनामार्फत ४६.९ किलोमिटर पदमार्ग निर्माण एवं मर्मत, रैथाने खाना महोत्सव, रोजगार श्रृजनाका उल्लेख्नीय काम भएको छ । कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले पर्यटकीय क्षेत्रको विकासमा काम गर्ने बताउनु भएको छ । मन्त्री पराजुलीले भन्नुभयो,‘पर्यटकीय स्थलको थप पहिचान गर्न बाँकी छ, यो कामलाई तिव्रता दिईनेछ । प्रदेश सरकारले कार्यक्रम बनाएर पर्यटनको विकास, विस्तार, प्रवद्र्धन र प्रचारप्रसारलाई घनिभूत बनाउने छ ।’

२०८३ साल असार १३ गते कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयले विराटनगरमा आयोजना गरेको ‘कोशी टुरिजम कन्क्लेभ’ ले पर्यटन विकासका लागि मार्गदर्शनको काम गरेको छ । पर्यटन नीतिलाई प्रभावकारी बनाउन विभिन्न सुझाव दिइएको थियोभने निजी क्षेत्रलाई साझेदारका रूपमा हेर्नु पर्नेमा जोड दिइएको थियो । पर्यटकीय गतिविधि व्यापक र विस्तृत भएको हुनाले हरेक क्षेत्रमा सरकारको ध्यान नपुग्न सक्छ । यसमानेमा कोशी प्रदेशमा निजी क्षेत्रको साथ र सहयोगमा पर्यटन क्षेत्रको उल्लेखनीय प्रवद्र्धन हुनेमा विश्वस्त रहन सकिन्छ । कन्क्लेभबाट सीमापार पर्यटन विस्तार, समुदायमा आधारित पर्यटन प्रवद्र्धन, कोशी प्रदेशमा पर्यटन सूचना केन्द्र एवं नेपाल पर्यटन बोर्डको प्रदेशस्तरीय कार्यालय स्थापनासहितका आठ प्राथमिकता तय गरेको छ जुन सकारात्मक हो ।

कोशी प्रदेशमा पर्यटनका भौगोलिक, प्राकृतिक, सांस्कृतिक र धार्मिक,सबै दृष्टिकोणबाट धनी कोशी प्रदेशमा पर्यटनको विकास र विस्तार गर्न सक्ने थुप्रै सम्भावना छ। प्राकृतिक एवं पर्यावरणीय वातावरणलाई आँच आउन नदिने गरी जलवायु अनुकुलको पर्यापर्यटनमा जोड दिँदै पर्यटनलाई उन्नत पार्दै आय–आर्जनमा वृद्धि गरी कोशी प्रदेशलाई समृद्ध बनाउन सकिने थुप्रै आधार छन् । पर्यटन प्रवद्र्धनका लागि कोशी प्रदेश सरकार, यस अन्तर्गतको पर्यटन, वन तथा वातावरण मन्त्रालयले खेलेको भूमिकाको मुक्तकण्ठले जतिसुकै प्रशंसा गरेपनि कम नै हुनेछ ।

तपाईको प्रतिक्रिया