काठमाडौँ, असार २१ गते । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि काठमाडौँ गोर्खाजलाई एक्स्ट्रिम इनर्जी ड्रिंक्सले मुख्य प्रायोजन गरेको छ ।
काठमाडौँ गोर्खाजलाई एक्स्ट्रिमले तीन वर्षको लागि प्रायोजन सम्झौता गरेको हो । गत संस्करणमा पनि एक्स्ट्रिम इनर्जी ड्रिंक्स डायमन्ड स्पोन्सरका रूपमा काठमाडौँसँग आबद्ध भएको थियो ।
संम्झौता कार्यक्रममा एग्रो थाई फुड्स प्रालिकी बजार व्यवस्थापक सोनिया रानाले एनपीएल नेपाली क्रिकेटकै सबैभन्दा ठूलो र प्रतिष्ठित फ्रेन्चाइज प्रतियोगिता रहेकोले काठमाडौँ गोर्खाजको टाइटल स्पोन्सर बन्न पाउँदा उत्साहित बनेको बताउनुभयो ।
काठमाडौँ गोर्खाजले यसअघि पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकर लाई क्रिकेट डाइरेक्टर नियुक्त गरिसकेको छ । करण केसी मार्की खेलाडी तथा कप्तान रहेको टोलीले आगामी एनपीएलका लागि भीम सार्की, शाहब आलम, रशिद खान, मोहम्मद आदिल अन्सारी र सन्तोष यादवलाई पनि रिटेन गरिसकेको छ ।







