रुकुमपश्चिम, असार २१ गते । आइतबार बिहान डोल्पाको जगदुल्ला गाउँपालिका –५ गैरीगाँउमा आएको लेदोसहितको बाढीमा बगेर घाइते भएका एक जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
उक्त घटनामा गम्भीर घाइते हुनुभएका स्थानीय ४४ वर्षीया रेउली बिकलाई थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीले बताउनुभयो । लेदोसहितको बाढीले बगाउँदा उहाँको कम्मरभन्दा तलको भागमा गम्भीर चोट लागेको थियो ।
स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि उहाँलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजान रिफर गरिएको थियो । लेदोसहितको बाढीले बगाउँदा स्थानीय ५६ वर्षीया आनन्दी बिकको मृत्यु भएको छ । अन्य छ जना घाइते हुनुभएको थियो ।
घरमा पुरिएको अवस्थामा उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकी काईगाउँतर्फ लैजाने क्रममा आनन्दीको मृत्यु भएको डिएसपी गिरीले जनाउनुभयो । उहाँका अनुसार निरन्तरको वर्षासँगै धुलाखोलामा आएको हिलोमाटोसहितको बाढी गाउँमा पसेर क्षति गरेको हो ।
उक्त घटनामा घाइते हुनुभएका सोही गाउँमा ५० वर्षीय चाउरी बिक, ४८ वर्षीय विष्णु बिक, १५ वर्षीय निरुता बिक, १३ वर्षीय सीता बिक र ६५ वर्षीय जस बिकको स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।







