जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकास्थित निगौल गाई गौशाला व्यवस्थापन कार्यालयकी प्रमुख कान्तिकुमारी पाण्डेमाथि हातपात तथा दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका आठ जना नगर प्रहरीविरुद्ध आपराधिक मुद्दा दर्ता गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार घटनामा संलग्न नगर प्रहरीहरूलाई पक्राउ गरी ‘आपराधिक उपद्रव तथा हुलदंगा’ सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गौशाला व्यवस्थापन कार्यालयको स्वीकृति बिना गौशालाको जग्गामा ढल निकास गर्ने काम भइरहेको बेला त्यसलाई रोक्न पुगेकी कार्यालय प्रमुख पाण्डेमाथि नगर प्रहरीले हातपात तथा दुर्व्यवहार गरेको आरोप लागेको हो । घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
पीडित पाण्डेले दिएको जाहेरीका आधारमा गौशाला नगरपालिकामा कार्यरत नगर प्रहरी लक्ष्मीनारायण चौधरी, जुलेरप्रसाद सिंह, रितुकुमारी, रमेश पासवान, राजेशकुमार महतो, पानबहादुर लामा, अजयकुमार यादव र चन्द्रिकाकुमारी चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक पञ्चलाल गेलेले जानकारी दिए ।
प्रहरीका अनुसार पक्राउ परेका सबैविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत आपराधिक उपद्रव तथा हुलदंगा सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । प्रचलित कानुनअनुसार उक्त कसुर प्रमाणित भएमा दोषीलाई एक वर्षसम्म कैद, १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।
घटनाका क्रममा सार्वजनिक वा निजी सम्पत्तिमा क्षति पुगेको प्रमाणित भएमा त्यसको क्षतिपूर्ति पनि सम्बन्धित कसुरदारबाट असुल गरिने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ ।







