काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रलाई साइबर कानुन वा अन्य कुनैपनि बहानामा त्रसित तुल्याउने सरकारको मनशाय नरहेको बताएका छन्।
नेपाल पत्रकार महासंघद्वारा ललितपुरमा आयोजित ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रताः सञ्चार कानून र जिम्मेवार पत्रकारिता’ विषयक कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताको रक्षा गर्न प्रतिवद्ध रहेको बताए।
सरकारले साइबरसँग सम्बन्धित विषयमा हस्तक्षेप गर्नै नपर्ने अवस्था सिर्जना गर्न सञ्चारमाध्यमहरुसँग उनले आग्रह पनि गरे। उनले पकारिताको क्षेत्रमा गलत ढङ्गले हस्तक्षेप गरियो भने त्यसको परिणाम सहज हुँदैन भन्नेकुरामा सरकार जानकार रहेको बताए।
‘पत्रकारिताको क्षेत्रमा गलत ढङ्गले हस्तक्षेप गरियो भने त्यसको परिणाम सहज हुँदैन भन्नेकुरा सरकारलाई राम्रोसँग थाहा छ। तर सरकार विभिन्न पक्षप्रति जवाफदेही हुनुपर्ने बाध्यताका कारण कहिलेकाहीँ केही विषयमा फरक परिस्थिति सिर्जना हुनसक्छ। यद्यपि पत्रकारिताको क्षेत्रमा अनुचित हस्तक्षेप गर्ने सरकारको कुनै सोच, नीति वा उद्देश्य छैन’, तिमिल्सिनाले भने।
उनले सरकार सञ्चार क्षेत्रलाई अझ बलियो, स्वच्छ, सशक्त र जिम्मेवार बनाउन तयार रहेको जिकिर गरे।
–न्यूज एजेन्सी नेपाल







