झापा : झापाको अर्जुनधारा–५ स्थित भानु माध्यमिक विद्यालयका एक शिक्षकविरुद्ध छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ। उजुरीपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।
इलाका प्रहरी कार्यालय बिर्तामोडमा दर्ता गरिएको सामूहिक जाहेरीमा विद्यालयका शिक्षक दुर्गा शिवाकोटीले छात्राहरूलाई विभिन्न प्रलोभन देखाएको, व्यक्तिगत भेटघाटका लागि दबाब दिएको तथा घटना सार्वजनिक नगर्न धम्की दिएको आरोप लगाइएको छ।
प्रहरीका अनुसार जाहेरीमा उल्लेख गरिएका आरोपका आधारमा शिक्षक शिवाकोटीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ। घटनासम्बन्धी थप विवरण संकलन गर्ने काम जारी रहेको बताइएको छ।
नेपालको कानुनी व्यवस्थाअनुसार बालबालिकामाथिको यौन दुर्व्यवहार गम्भीर फौजदारी अपराध मानिन्छ।
यस्ता घटनामा पीडितको गोपनीयता संरक्षण, मनोसामाजिक सहयोग तथा निष्पक्ष अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने कानुनी व्यवस्था छ।प्रहरीले सबै पक्षसँग बयान लिने तथा आवश्यक प्रमाण संकलन गर्ने प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ। यता, आरोपित शिक्षक शिवाकोटीले भने आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका छन्।
उनका अनुसार कक्षा १० को परीक्षा चलिरहेको बेला एक विद्यार्थीले प्रश्न नबुझेको बताएपछि आफूले प्रश्न पढेर सुनाएका थिए।
प्रश्न पढिसकेपछि विद्यार्थीले लगाएको घडी देखेर “नानी, तिमीले कति राम्रो घडी लगाएकी रहेछौ, कसले किनिदिएको?” भनेर सामान्य रूपमा सोधेको उनको दाबी छ।
परीक्षा चलिरहेको समयमा आफूबाट कुनै पनि प्रकारको दुर्व्यवहार नभएको उनको भनाइ छ। यस घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेकाले आरोपको सत्यता अनुसन्धानबाट खुल्नेछ।
छात्रामाथि यौन दुर्व्यवहारको आरोप, उजुरीपछि पक्राउ







