सोमबार सम्पर्क कार्यालयमा देउवा समूहको विस्तारित बैठक 

काठमाडौँ, १९ असार – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवानिकट समूहको भेला सम्पन्न भएको छ।

निवर्तमान उपसभापति पूर्णबहादुर खड्काको निवास गोल्फुटारमा भएको भेलाले पार्टी एकताको निम्ति संस्थापन पक्ष जिम्मेवार नरहेको निष्कर्ष निकालेको छ।

बैठकले अनेक बहानामा संस्थापन पक्ष पार्टी एकताको लागि जिम्मेवार नबनेको निर्षकर्ष निकालेको नेता विमलेन्द्र निधिले बताए। “हाम्रो बैठक सम्पन्न भयो, संस्थापन पक्षले गरिरहेको संवादबारे पनि कुराकानी भयो,” निधिले भने, “तर, पार्टी एकताका लागि नेतृत्व जिम्मेवार नभएको निष्कर्ष निस्कियो।”

बैठकले पन्ध्रौँ महाधिवेशनको लागि चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गर्ने निधो गरेको छ। निधिका अनुसार अब उक्त कार्यालयमा सोमबारदेखि समूहको बैठक बस्ने छ। “अब हामीले के गर्ने त्यही कार्यालयबाट निर्णय गर्छौँ,” निधिले भने।

उनका अनुसार उक्त कार्यालयमा १४औं महाधिवेशनमा निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्यहरूको विस्तारित बैठक बस्ने छ। सोमबार बस्ने बैठकले समूहको राष्ट्रिय भेलाको टुंगो लगाउने निधिले बताए।

“यो बीचमा पूर्णबहादुरजी, शेखरजी, गगनजी, विश्वप्रकाशजीसँग कुराकानी भएकोबारे छलफल हुँदा नेतृत्व पार्टी एकतामा जिम्मेवार नरहेको हाम्रो निष्कर्ष छ,” निधिले भने।
देउवा र नेता शेखर कोइराला समूह विशेष महाधिवेशनमा सहभागी भएको थिएन। संस्थापन पक्षले क्रियाशील सदस्यता अद्यावधिक थालेपछि देउवा-कोइराला समूह सहभागी भएको छैन।

संस्थापन पक्षले २० असारमा क्रियाशील सदस्यताको समयसीमा निर्धारण गरेको थियो। उक्त समयसीमा शनिबार राति १२ बजे सकिँदैछ।

देउवा समूहको बैठकमा मध्यमार्गी नेता शेखर कोइराला सहभागी भएनन्। उनी मात्रै नभएर कोइराला समूह नै उक्त बैठकमा थिएन।

क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्ने भनिए पनि शुक्रबार बसेन। समितिका संयोजक महामन्त्री प्रदीप पौडेल उपस्थित नभएपछि बैठक बस्न नसकेको बताइएको छ।

तपाईको प्रतिक्रिया