उषा सरदार, १५ असार
मोरङ । कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकाबाट करिब १० किलोमिटर पूर्व–दक्षिणमा रहेको धनपालथान गाउँपालिका–७, रजवडा (साबिक कदमाहा) मा आज पनि एउटा यस्तो ऐतिहासिक स्थल मौन भएर उभिएको छ, जसले पूर्वी नेपालको गौरवशाली इतिहास, धार्मिक आस्था र पुरातात्विक सम्पदाको कथा बोकेको छ।

यही स्थलसँग जोडिएका प्राचीन शासक राजा धनपालको नामबाट धनपालथान गाउँपालिकाको नामकरण भएको हो। स्थानीय जनश्रुति, ऐतिहासिक अध्ययन र पुरातात्विक प्रमाणहरूले यो क्षेत्रलाई पूर्वी नेपालको महत्वपूर्ण ऐतिहासिक धरोहरका रूपमा चिनाएका छन्। इतिहासकारहरूका अनुसार नेपाल एकीकरणअघि पूर्वी तराईमा थुप्रै साना राज्यहरू थिए र तिनैमध्ये पाल वंशका राजा धनपालले मोरङ क्षेत्रको एक भागमा शासन गरेका थिए। उहाँको दरबार रहेको स्थानलाई पछि “धनपालथान” भनिन थालियो र समयसँगै त्यही नामले गाउँपालिकाको पहिचान बनायो।
आज पनि स्थानीयवासी यो स्थललाई दैविक शक्तिको केन्द्र मान्छन्। २०५१ सालदेखि यहाँ पुजारीका रूपमा सेवा गर्दै आउनुभएका लक्ष्मी केवटका लागि यो केवल पूजा गर्ने स्थान मात्र होइन, इतिहासका जीवित साक्षी बनेको स्थल पनि हो। उहाँका अनुसार साबिक कदमाहा गाविसका स्थानीय ओनाई विश्वास र उहाँकी पत्नी गुजरी देवी विश्वासको विवाह भएको लामो समयसम्म सन्तान नभएपछि उहाँहरूले राजा धनपालको दैविक स्थलमा आएर सन्तान प्राप्त भए गाईगोरुका लागि पोखरी खनिदिने भाकल गर्नु भएको थियो। त्यसपछि सन्तान प्राप्त भएपछि बिक्रम सम्बत २०१८ सालमा राजा धनपालको उत्तरतर्फ रहेको ऐलानी जग्गामा पोखरी खन्ने क्रममा जमिनमुनिबाट बहुमूल्य धातुका ठूला–ठूला भाँडाकुँडा निश्कियो । पोखरी वरपर सिसाले बनेको इनारसमेत भेटिएको उहाँ सम्झनुहुन्छ। केवटका अनुसार करिब एक ट्रक बराबरका ती बहुमूल्य पुरातात्विक सामग्री पुरातत्त्व विभागको अभिलेखालयमा लगिएको थियो।

यो स्थलसँग जोडिएका रहस्यमय घटनाहरूले स्थानीय आस्थालाई अझ बलियो बनाएको छ। २०२२ सालमा स्थानीय सय वर्षीय सुमृत कामत तीन दिनसम्म पोखरीभित्र हराउनु भएको थियो। तीन दिनपछि उहाँ सकुशल बाहिर निस्किएको घटना आज पनि स्थानीयले राजा धनपालको चमत्कारका रूपमा सुनाउने गर्छन्। पुजारी केवटका अनुसार साँचो मनले भाकल गर्ने भक्तजनको मनोकामना पूरा हुने जनविश्वास आज पनि उत्तिकै बलियो छ।
राजा धनपालको इतिहास केवल जनश्रुतिमा सीमित छैन। २०७१ सालको चैत महिनामा यही क्षेत्रमा भगवान विष्णुको हजारौं वर्ष पुरानो दशभुजा भएको बहुमूल्य प्राचीन मूर्ति फेला परेको थियो। सुरक्षाको कारण देखाउँदै उक्त मूर्ति अहिले पनि इलाका प्रहरी कार्यालय रंगेलीमा सुरक्षित राखिएको छ। यस क्षेत्रबाट घोडा अंकित चाँदीका सिक्का लगायत बहुमूल्य पुरातात्विक सामग्री फेला पर्ने क्रम अझै जारी रहेको स्थानीयहरू बताउछन।
राजा धनपाल संरक्षण समितिका उपाध्यक्ष प्रमोद शर्माका अनुसार पहिले राजा धनपालको नाममा पोखरीसहित चार बिघा पाँच कट्ठा जग्गा थियो। तर समयक्रममा ओनाई विश्वासले खनेको पोखरी रहेको एक बिघा पाँच कट्ठा जग्गा निजी नाममा दर्ता भएपछि अहिले राजा धनपालको नाममा तीन बिघा जग्गा मात्र बाँकी छ। ऐतिहासिक महत्व बोकेको उक्त पोखरी पुनः संरक्षण समितिकै नाममा आउनुपर्ने उहाँहरूको माग रहेको छ।

२०६० सालमा संरक्षण समिति दर्ता भएपछि संरक्षणका प्रयासहरू सुरु भएको हो। त्यो भन्दा अगाडी २०५८ सालमा तत्कालीन जिल्ला विकास समितिको सात लाख रुपैयाँबाट एक कोठे भवन निर्माण भयो। त्यसपछि संविधानसभा सदस्य रामानन्द मण्डलको तीन लाख रुपैयाँबाट टहरा बनाइयो। कदमाहा गाविसले उपलब्ध गराएको १० लाख रुपैयाँबाट सामुदायिक भवन निर्माण सुरु भए पनि अझै अधुरो छ। २०७४ सालमा गाउँपालिकाले घेराबेराका लागि २ पटकमा २० लाख रुपैयाँ विनियोजन गरेपछि पूर्व र उत्तरतर्फ आंशिक घेराबेरा निर्माण भयो। २०७७ सालमा वडा नं. ७ को दुई लाख ५० हजार रुपैयाँबाट पक्की शौचालय निर्माण गरियो।
२०७८ सालमा तत्कालीन गाउँ पालिका अध्यक्ष हरिलाल सिंहले गाउँपालिकाबाट मन्दिर निर्माणका लागि ५५ लाख रुपैयाँ विनियोजन गरे पनि निर्माण प्रक्रिया विवादमा तानियो। संरक्षण समितिलाई जानकारी नै नदिई ३५ लाख रुपैयाँमा ठेक्का लगाएपछि मन्दिरको डिजाइन परिवर्तन भएको भन्दै विवाद चर्कियो। अन्ततः संरक्षण समितिले उच्च अदालतमा मुद्दा दायर गर्यो र फैसला समितिकै पक्षमा आयो। तर पालिका र ठेकेदारबीचको विवादका कारण मन्दिर आजसम्म अधुरै छ।
हाल २०८२ सालमा गाउँपालिकाले १० लाख रुपैयाँ खर्चेर हात्तीमा सबार राजा धनपाल र बनकाली देवी सहितको अन्य प्रतीकात्मक सिमेन्टको मूर्ति निर्माण गरेको छ। मूर्तिको प्राणप्रतिष्ठाको तयारी भइरहेको समितिले जनाएको छ। यही आर्थिक वर्षमा कोशी प्रदेशको शहरी विकास कार्यालयले मन्दिरको घेराबेराका लागि १० लाख रुपैयाँ विनियोजन गरेको थियो। तर निर्माणका क्रममा माटो खन्दा प्राचीन इँटा फेला परेपछि पुरातत्त्व विभागले तत्काल उत्खनन कार्य रोक्न निर्देशन दिएको छ। पुरातात्त्विक विभागले अझै माटोमुनि बहुमूल्य पुरातात्विक सम्पदा लुकेर बसेका हुनसक्ने भएकोले उत्खननमा रोक लगाएको बताउनु भयो।
प्रमोद शर्माका अनुसार अहिले पनि माटोको ढिस्कोमुनि पुरानो दरबारको भग्नावशेष, ऐतिहासिक इनार र पिपलको रुखमा चेपिएका प्राचीन इँटाहरू देख्न सकिन्छ। वैज्ञानिक उत्खनन गर्न सके राजा धनपालको इतिहास अझ स्पष्ट रूपमा बाहिर आउने उहाँको दाबी छ।
संरक्षण समितिका कोषाध्यक्ष जितनलाल मण्डलका अनुसार प्रत्येक वर्ष चैत महिनाको अन्तिम राति विशेष निशी पूजा गरिन्छ। मध्यरातमा मन्दिरका गहिदार (मुखिया) बाजागाजा सहित दही–चिउरा र बलि सहित पूजा गर्छन । त्यसको भोलिपल्ट नयाँ वर्षको पहिलो दिन वैशाख १ गते विशाल मेला लाग्छ। मोरङ, झापा, सुनसरीका साथै भारतबाट समेत हजारौं श्रद्धालु यहाँ आउने गरेका छन्। उहाँका अनुसार राजा धनपालको इतिहासलाई केन्द्रमा राखेर ऐतिहासिक पार्क, संग्रहालय, अध्ययन केन्द्र र पर्यटकीय पूर्वाधार निर्माण गर्न सके धनपालथान धार्मिक, ऐतिहासिक र सांस्कृतिक पर्यटनको प्रमुख गन्तव्य बन्न सक्छ। त्यसबाट स्थानीय आर्थिक गतिविधि बढ्नुका साथै गाउँपालिकाको पहिचान राष्ट्रिय स्तरमा स्थापित हुने विश्वास उहाँको छ।
धनपालथान गाउँपालिकाकी उपाध्यक्ष नसिमा बानोले गाउँपालिकाको नामसँग जोडिएको यो ऐतिहासिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुहुन्छ। उहाँका अनुसार इतिहास संरक्षणसँगै पर्यटन विकासको दीर्घकालीन योजना बनाएर प्रदेश र संघीय सरकारसँग सहकार्य गर्न सके धनपालथानलाई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ। यसका लागि तीनै तहका सरकारसँग आवश्यक पहल गरिने उहाँको प्रतिबद्धता छ।
राजा धनपाल केवल इतिहासका पात्र होइनन्, धनपालथानको पहिचान, गौरव र सांस्कृतिक अस्तित्वका प्रतीक हुन्। तर संरक्षणको अभाव, व्यवस्थित अनुसन्धान नहुनु र प्रचारप्रसारको कमीले यति महत्वपूर्ण ऐतिहासिक सम्पदा आज इतिहासको धुलोमा हराउँदै गएको छ। यदि समयमै वैज्ञानिक उत्खनन, संरक्षण र पर्यटनसँग जोड्ने दीर्घकालीन योजना अघि बढाउन सकियो भने राजा धनपालको इतिहासले धनपालथानलाई राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा समेत चिनाउने बलियो आधार बन्ने निश्चित छ। इतिहास जोगाउनु भनेको केवल विगतलाई बचाउनु होइन, भावी पुस्तालाई आफ्नो पहिचान हस्तान्तरण गर्नु पनि हो। राजा धनपालको ऐतिहासिक भूमि आज यही जिम्मेवारीको प्रतीक्षामा छ।







