काठमाण्डौ– फिफा विश्वकप फुटबलमा फ्रान्स र नर्वे अन्तिम १६ मा पुगेका छन् ।
आज बिहान भएको खेलमा फ्रान्सले स्विडेनलाई ३ गोलले हराउँदा गएराति भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ ले पराजित गरेको हो । नर्वेको जीतमा एर्लिङ हालान्ड र नुसाले गोल गरे ।
खेल सकिन चार मिनेट बाँकी रहँदा हालान्डले प्याट्रिक बर्गको पासलाई गोलमा परिणत गर्दै नर्वेलाई जीत दिलाए । यसअघि खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले नर्वेलाई अग्रता दिलाएका थिए । तर ७४औँ मिनेटमा अमाद डियालोले बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो । हालान्डले प्रतियोगितामा तीन खेलमा पाँच गोल गरेका छन् । अब नर्वेले अन्तिम १६ मा ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।
आज बिहान भएको अर्को खेलमा फ्रान्सले स्विडेनमाथि सहज जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको हो । फ्रान्सको जितमा किलियन एमबाप्पेले दुई तथा ब्राडली बार्कोलाले एक गोल गरे । एमबाप्पेले ४५औँ र ७४औँ मिनेटमा तथा ब्राडली बार्कोलाले खेलको ५३औँ मिनेटमा गोल गरे ।
यस वर्षको विश्वकपमा एम्बाप्पेको गोल संख्या ६ पुगेको छ । एमबाप्पेले यो विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनाका मेसीसँग बराबरी गरेका छन् । विश्वकपमा कुल १८ गोलसहित उनी मेस्सीभन्दा एक गोलले मात्र पछाडि छन् ।
अब फ्रान्सले अन्तिम १६ मा पाराग्वेसँग खेल्नेछ । विश्वकप फुटबलमा अहिले बिहान पौने ८ बजे मेक्सिको र इक्वेडरले खेल्दैछन् ।







