काठमाडौँ, असार १६ गते । देशभर सञ्चालित कतिपय होटल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर र स्वच्छता ज्यादै कमजोर रहेको जनगुनासो बढेपछि गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले सिंहदरबारबाट देशभरका सबै जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै बजार अनुगमन, नागरिक स्वास्थ्य सुरक्षा तथा प्रशासनिक जवाफदेहिता सम्बन्धमा एक विशेष निर्देशन जारी गरेको छ।

नागरिकको स्वास्थ्य सुरक्षा र उपभोक्ता अधिकारको ग्यारेन्टी गर्नु राज्यको प्राथमिक दायित्व भएको उल्लेख गर्दै मन्त्रालयले कानुनी कारबाही र बजार अनुगमनलाई तीव्रता दिन आदेश दिएको छ।

गृह मन्त्रालयले जारी गरेको विशेष निर्देशनका मुख्य बुँदा:

नियमित एवम् सघन अनुगमन र कानुनी कारबाही,

होटल तथा रेस्टुरेन्टले प्रदान गर्ने खानाको गुणस्तर र खाद्य स्वच्छता सम्बन्धमा नियमित, सघन र आकस्मिक अनुगमन,

अनुगमनलाई केवल प्रक्रियामा मात्र सीमित नगरी परिणाममुखी बनाइने,

नागरिकको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकूल असर पुर्‍याउने वा प्रचलित कानुनको उल्लङ्घन गर्ने जुनसुकै पक्षलाई कानुन बमोजिम हदैसम्मको कडा कारबाही गरिनेछ।

जिल्लास्तरमै समस्या समाधान र जिम्मेवारी

स्थानीय स्तरका गुनासा र समस्यालाई जिल्ला प्रशासन कार्यालय तथा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा स्थानीय स्तरमै समाधान गर्ने भएको छ । साना-तिना विषयमा पनि गुनासोकर्ता केन्द्र वा मन्त्रालयसम्म धाउनुपर्ने स्थितिको पूर्ण रूपमा अन्त्य गर्ने नीति लिइएको छ।

यस सम्बन्धमा जिल्लाको कार्यसम्पादनलाई मन्त्रालयले प्रत्यक्ष सुपरीवेक्षण गर्ने हुँदा कार्यसम्पादनमा कुनै पनि किसिमको असक्षमता वा उदासीनता प्रस्तुत नगर्न सचेत गराइएको छ।

मन्त्रालयका शाखा अधिकृत संगम सापकोटाद्वारा हस्ताक्षरित यस निर्देशन पत्रमा नागरिक केन्द्रित शासन व्यवस्थाको साख जोगाउन र बजारमा विधिको शासन कायम गर्न स्थानीय प्रशासनले आफ्नो सम्पूर्ण व्यावसायिकता प्रदर्शन गर्नेमा मन्त्रालय पूर्ण विश्वस्त रहेको उल्लेख छ।

अस्वच्छ, दूषित वा गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गरी नागरिकको स्वास्थ्यसँग खेलवाड गर्ने देखिएमा वा त्यस्ता गतिविधिको जानकारी भएमा तुरुन्त प्रमुख जिल्ला अधिकारीको कार्यालय वा हटलाइन डेस्कमा सम्पर्क गरी नागरिक जिम्मेवारी पूरा गर्न गृह मन्त्रालयले आम जनसमुदायमा अपिल गरेको छ।

तपाईको प्रतिक्रिया