सिरहा : नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको सामूहिक बलात्कार तथा त्यसपछिको शङ्कास्पद मृत्यु प्रकरणमा सिरहा जिल्ला अदालतले फैसला सुनाएको छ।
मुद्दा दर्ता भएको १३ महिना १० दिनपछि जिल्ला अदालतका मुख्य न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको एकल इजलासले वडासदस्यसहित १४ जनालाई दोषी ठहर गर्दै कैद तथा जरिवानाको सजाय सुनाएको हो।
अदालतका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत राधेश्याम यादवका अनुसार बलात्कारमा संलग्न, सहयोगी तथा घटना लुकाउन पञ्चायती गर्नेहरूलाई फरक–फरक सजाय तोकिएको छ।
घटना लुकाउन पञ्चायती गर्ने वडासदस्य नथुनी साह, रामकृपाल मण्डल, विन्देश्वर साह र रामदेव सदायसहितका प्रतिवादीहरूलाई मुलुकी अपराध संहिताबमोजिम जनही आठ महिना कैद र सात हजार रुपैयाँ जरिवाना गर्ने फैसला भएको छ।
जनप्रतिनिधिको हैसियतमा रहेर पनि अपराधलाई प्रश्रय दिएको तथा कानुनी प्रक्रियामा बाधा पुर्याएको ठहर गर्दै वडा सदस्य साहलाई थप ६ महिना कैद सजाय पनि तोकिएको छ।
त्यसैगरी, घटनामा प्रत्यक्ष संलग्न तीन नाबालकलाई समेत अदालतले दोषी ठहर गरेको छ। अदालतले पीडित परिवारको क्षतिपूर्तिलाई प्राथमिकतामा राख्दै दोषीहरूबाट जनही ३५ हजार रुपैयाँका दरले पीडितका हकवालालाई क्षतिपूर्ति भराउन तथा थप तोकिएको शुल्कसमेत बुझाउन आदेश दिएको छ।
२०८१ साल माघ २७ गते राति शौचका लागि घरबाहिर निस्केकी रिंकुलाई स्थानीय तीन युवकले नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरेका थिए।
गम्भीर पीडासहित भोलिपल्ट बिहान करिब ३ बजे घर फर्किएकी रिंकुले आफ्नी आमालाई घटनाबारे जानकारी गराएकी थिइन्। तर, उक्त घटना प्रहरीसम्म पुग्न नदिई गाउँमै मिलापत्र गर्ने प्रयास गरिएको थियो।
माघ २९ र ३० गते वडा सदस्य नथुनी साहको रोहवरमा दुई पटक ‘पञ्चायती’ बस्दै दोषीहरूलाई १ लाख ५१ हजार रुपैयाँ जरिवाना तिराएर घटना सामसुम पार्ने निर्णय गरिएको थियो। तर रकम बाँडफाँटमा विवाद भएपछि सहमति हुन सकेन।
सोही दिन (माघ ३० गते) रिंकु आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। बाहिरबाट ढोका बन्द अवस्थामा शव भेटिएकाले उनको मृत्युलाई सुरुदेखि नै शङ्कास्पद मानिएको थियो।







