मणिराम दाहाल / सुन्दरहरैंचा
माेरङकाे सुन्दरहरैंचाको ऐतिहासिक विकास, वर्तमान अवस्था तथा आर्थिक समृद्धिका सम्भावनाबारे व्यापक बहस सिर्जना गर्ने उद्देश्यका साथ आयोजित दुईदिने ‘रन सुन्दरहरैंचा–२०८३’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा, सुन्दरहरैंचा नगरपालिकाको प्रवर्द्धन तथा विभिन्न स्थानीय संघ–संस्थाको सह–आयोजनामा सम्पन्न कार्यक्रमले विकास, स्वास्थ्य, कृषि, पर्यटन, उद्यमशीलता र सामाजिक एकतालाई एकैसाथ जोड्ने प्रयास गरेको आयोजकले जनाएको छ। कार्यक्रमको पहिलो दिन असार १४ गते इन्द्रपुर जेसीजको सभाहलमा सुन्दरहरैंचाको विकास यात्रा, आर्थिक सम्भावना, लगानी, पर्यटन, उद्यमशीलता, रोजगारी सिर्जना तथा नगरको दीर्घकालीन समृद्धिका विषयमा अन्तरक्रिया तथा बहस कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा वरिष्ठ पत्रकार टिकाराम यात्री, पत्रकार दिलभूषण पाठक, पूर्व अर्थसचिव रामेश्वर खनाल, नायिका रेखा थापा, उद्योगी सुरेश प्याकुरेल, उद्योगी अरुण सुवेदी, सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं तथा पूर्व नगरप्रमुख शिवप्रसाद ढकालले आ–आफ्ना धारणा राखेका थिए। वक्ताहरूले सुन्दरहरैंचाको विकासका उपलब्धिसँगै चुनौतीहरू औँल्याउँदै सडक पूर्वाधार, कृषि, उद्योग, शिक्षा, आर्थिक तथा सामाजिक पक्षमा महिलाकाे सहभागिता , स्वास्थ्य, पर्यटन, कला, संस्कृति तथा मोफसल पत्रकारिताको विकासमा अझ प्रभावकारी योजना र कार्यान्वयन आवश्यक रहेको बताएका थिए। नगरको आर्थिक समृद्धिका लागि निजी क्षेत्र, स्थानीय सरकार र नागरिकबीच सहकार्य अपरिहार्य रहेको उनीहरूको साझा निष्कर्ष थियो।
सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले कार्यक्रमले नगरको विकास, आर्थिक सम्भावना, लगानी प्रवर्द्धन तथा समृद्धिका विषयमा साझा दृष्टिकोण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। कार्यक्रम संयोजक तथा उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलालले कार्यक्रममार्फत सुन्दरहरैंचालाई प्रदेशकै एक गतिशील नगरका रूपमा स्थापित गर्ने उद्देश्य रहेको बताए।
दोस्रो दिन असार १५ गते बिहान विराटचोकबाट सुरु भएको ‘रन सुन्दरहरैंचा–२०८३’ हरैंचा बजारसम्म पुगेर सम्पन्न भएको थियो। “अब सुत्दैन सुन्दरहरैंचा, जुरुक्क उठ्छ सुन्दरहरैंचा” भन्ने मूल नाराका साथ आयोजित दौडमा विद्यार्थी, युवा, महिला, ज्येष्ठ नागरिक, उद्योगी–व्यवसायी, कर्मचारी, सामाजिक अभियन्ता, जनप्रतिनिधि तथा सर्वसाधारण गरी हजारौं सहभागी भएका थिए। आयोजकले सुरुमा करिब १० हजार सहभागीको अपेक्षा गरेको जनाएको थियो। कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदी, वरिष्ठ पत्रकार टिकाराम यात्री, पत्रकार दिलभूषण पाठकलगायत विशिष्ट व्यक्तित्वहरू पनि सहभागी भई स्थानीयवासीसँगै दौडिएका थिए। विराटचोकदेखि हरैंचासम्म हजारौँ सहभागीको उपस्थितिले नगर उत्सवमय बनेको थियो।
रन सम्पन्न भएपछि २३औँ राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वको अवसरमा हरैंचास्थित हात्तीसार खेलमैदानमा सहभागीहरूलाई दही–चिउरा वितरण गरिएको थियो। त्यसपछि सामूहिक रूपमा खेतमा धान रोपाइँ तथा हिलो खेल्ने कार्यक्रम सञ्चालन गरिएको थियो। सहभागीहरूले असार १५ को मौलिक संस्कृति संरक्षण गर्दै कृषि परम्परासँग जोडिने अवसरका रूपमा कार्यक्रमलाई उत्साहपूर्वक मनाएका थिए। आयोजकका अनुसार कार्यक्रमले स्वास्थ्यप्रति सचेतना, कृषि संस्कृतिको संरक्षण, पर्यटन प्रवर्द्धन, सामाजिक सद्भाव तथा नगरको आर्थिक सम्भावनाबारे सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गरिएको छ । साथै, सुन्दरहरैंचाको दीर्घकालीन विकासका लागि साझा अवधारणा निर्माण गर्न कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त भएको छ।
दुई दिनसम्म सञ्चालन भएको कार्यक्रमले सुन्दरहरैंचालाई आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा थप सशक्त बनाउने सन्देश दिएको सहभागीहरूको भनाइ छ। बहस, दौड, दही–चिउरा वितरण, सामूहिक धान रोपाइँ तथा सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न कार्यक्रमले सुन्दरहरैंचाको पहिचान, एकता र विकासप्रतिको साझा प्रतिबद्धतालाई थप मजबुत बनाएकाे आयाेजककाे भनाइ रहेको छ ।

-नेपाल गौरवको सहयोगमा

तपाईको प्रतिक्रिया