सञ्जय मिश्रा
बारा, १५ असार।
बाराको दक्षिण–पूर्वी भेगमा भारतसँग सीमा जोडिएको ऐतिहासिक नगर सिम्रौनगढ पछिल्ला वर्षहरूमा पुरातात्त्विक सम्पदाभन्दा पनि सीमा तस्करीका कारण बढी चर्चामा रहँदै आएको छ।
तर पछिल्लो आठ महिनामा भने इलाका प्रहरी कार्यालय सिम्रौनगढको सक्रियताले सीमा क्षेत्रमा तस्करी नियन्त्रणतर्फ उल्लेखनीय परिणाम देखिएको छ।
ईलाका प्रहरी कार्यालय प्रमुख इन्स्पेक्टर कृष्णदेव प्रसाद साह नेतृत्वको टोलीले कमाण्ड सम्हालेयता तस्करी नियन्त्रणसँगै विभिन्न गम्भीर आपराधिक घटनाको अनुसन्धानमा समेत प्रभावकारी काम गरेको प्रहरी तथ्यांकले देखाएको छ।
गृहमन्त्रीको तस्करी नियन्त्रणसम्बन्धी कडा निर्देशनपछि सीमावर्ती क्षेत्रमा प्रहरीको निगरानी थप प्रभावकारी बनेको बताइन्छ।
प्रहरीका अनुसार पछिल्लो आठ महिनामा एक करोड ६ लाख २२ हजार १८८ रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
यस अवधिमा जबरजस्ती करणी, लागूऔषध, हत्या, हातहतियार, ज्यान मार्ने उद्योग, मानव बेचबिखन तथा बहुविवाहजस्ता मुद्दामा समेत सफल अनुसन्धान भएको प्रहरीको दाबी छ।
गत सोमबार प्रहरीले ५७ लाख ९९ हजार २३३ रुपैयाँ बराबरको खरबुजाको बिउ बोकेको ट्रक नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको थियो। त्यसको दुई दिनअघि शनिबार साँझ ३० लाख ९० हजार रुपैयाँ बराबरका छ वटा राँगा बोकेको पिकअप भ्यान नियन्त्रणमा लिई वीरगञ्ज भन्सार कार्यालय पठाइएको थियो।
त्यसबाहेक प्रहरीले पिकअपसहित करिब ८ लाख ५४ हजार रुपैयाँ बराबरको केरा, कपडासहित तीन मोटरसाइकल, किराना सामान, बोइलर चल्ला, तोरी, चनाको दाल, मदिरा, चिनी, खैनी, मल, प्लास्टिकका गमला लगायतका विभिन्न भन्सार छलीका सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको जनाएको छ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय सिम्रौनगढ तथा मातहतका प्रहरी चौकीहरूको सक्रियतापछि अडुवा खोला आसपास तथा सिम्रौनगढ र पचरौता नगरपालिकाका सीमा क्षेत्रबाट तस्करीका गतिविधिमा उल्लेख्य दबाब परेको छ।
सीमावर्ती क्षेत्रमा पछिल्ला महिनामा भएका बरामदले प्रहरी सक्रियता बढेको संकेत गरे पनि खुला सीमा, संगठित तस्करी सञ्जाल र स्थानीय तहबीचको समन्वय अभावका कारण चुनौती अझै कायम छ। सुरक्षा विज्ञहरूका अनुसार तस्करी नियन्त्रणलाई दिगो बनाउन प्रहरीको नियमित निगरानीसँगै भन्सार, स्थानीय सरकार र अन्य सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक रहनेछ।







