तेह्रथुम– पहाडी क्षेत्रमा आधुनिक तथा व्यावसायिक फलफूल खेतीको सम्भावनालाई उजागर गर्दै तेह्रथुमको छथर गाउँपालिका–३ पञ्चकन्यास्थित मापाङ्भेमा सञ्चालित सगुन एग्रो फार्म पूर्वी नेपालको नमुना कृषि फार्मका रूपमा स्थापित हुँदै गएको छ।
होम पारघरी लिम्बूद्वारा सञ्चालित यस फार्ममा स्वदेशी तथा विदेशी जातका विभिन्न फलफूलको परीक्षण, विस्तार र व्यावसायिक उत्पादन गरिँदै आएको छ। बहुविविध फलफूल खेतीमार्फत स्थानीय किसानलाई आधुनिक कृषि प्रविधिप्रति आकर्षित गर्ने र व्यावसायिक खेतीमा प्रेरित गर्ने उद्देश्य फार्मले लिएको छ।
फार्मको मुख्य व्यावसायिक बालीका रूपमा ड्रागन फ्रुट खेती गरिएको छ। यहाँ करिब १४० वटा ड्रागन फ्रुटका बिरुवा लगाइएका छन्। उचित व्यवस्थापन गर्न सके वर्षमा धेरै पटक फल उत्पादन गर्न सकिने भएकाले यो बालीलाई उच्च आम्दानी दिने फलफूलका रूपमा हेरिएको छ।
यसैगरी, फार्ममा ताइवानी अम्बा, एचआरएमएन–९९ जातको स्याउ र उन्सु सुन्तलाको समेत खेती गरिएको छ। ताइवानी अम्बा छिट्टै फल दिने, कम बीउ भएको र स्वादिष्ट भएकाले बजारमा यसको माग बढ्दो छ। एचआरएमएन–९९ जातको स्याउ तातो तथा मध्यम पहाडी क्षेत्रमा समेत उत्पादन गर्न सकिने विशेषताका कारण किसानको आकर्षणको केन्द्र बनेको छ। त्यस्तै, बीउ कम वा नभएको, रसिलो र मीठो स्वादको उन्सु सुन्तलाको पनि पूर्वी पहाडमा राम्रो सम्भावना रहेको बताइएको छ।
सगुन एग्रो फार्मको विशेषता भनेको बहुविविध फलफूल खेती, आधुनिक कृषि प्रविधिको प्रयोग, नयाँ जातका फलफूलको परीक्षण तथा विस्तार र कृषि पर्यटनको सम्भावना हो। फार्मले स्थानीय किसानका लागि सिकाइ तथा प्रेरणाको केन्द्र बन्ने लक्ष्यसमेत राखेको छ।
फार्मका सञ्चालक होम पारघरी लिम्बूले मापाङ्भे क्षेत्रलाई आधुनिक फलफूल उत्पादनको नमुना क्षेत्रका रूपमा विकास गर्दै उच्च मूल्यका फलफूल उत्पादन, रोजगारी सिर्जना र स्थानीय कृषि अर्थतन्त्रमा योगदान पुर्याउने लक्ष्य रहेको बताए।
उचित प्रविधि, सिँचाइ सुविधा, बजार व्यवस्थापन तथा मूल्य अभिवृद्धिमा ध्यान दिन सकिए सगुन एग्रो फार्म पूर्वी नेपालको सफल व्यावसायिक फलफूल फार्ममध्ये एक बन्ने प्रबल सम्भावना रहेको स्थानीयवासीको विश्वास छ।







