विराटनगर । आइएनजी ग्रुपले सञ्चालन गर्दै आएको विराटनगर इन्टरनेशनल कलेज (बिआइसी) मा थप १०० करोड रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ। पूर्वी नेपाललाई शिक्षा, प्रविधि र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित उक्त लगानी थप गरिएको हो।

शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कलेजले आफ्नै स्वामित्वको जग्गामा १०० करोड रुपैयाँको लागतमा आधुनिक सुविधासम्पन्न कलेज भवन निर्माण भइरहेको जानकारी दिएको छ। साथै, कलेजले दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याउने घोषणा समेत गरेको छ।

कलेजका अनुसार निर्माणाधीन भवन निजी क्षेत्रबाट उच्च शिक्षामा गरिएको ठूला लगानीमध्ये एक हो। नयाँ भवनमा आधुनिक सिकाइ केन्द्र, अत्याधुनिक प्रविधि प्रयोगशाला, साइबर सुरक्षा प्रयोगशाला तथा नवप्रवर्तन र उद्यमशीलता केन्द्र स्थापना गरिनेछ।

आइएनजी ग्रुपका अध्यक्ष सुलभ बुढाथोकीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण भइरहेको पूर्वाधारले विद्यार्थीलाई विश्वस्तरीय शैक्षिक वातावरण र व्यावहारिक अनुभव प्रदान गर्ने बताए।

उनले कलेजले बेलायतको University of Wolverhampton सँगको सहकार्यमा दुई नयाँ कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए। कलेजले डिजिटल सुरक्षाको बढ्दो मागलाई मध्यनजर गर्दै बीएस्सी साइबर सेक्युरिटी र इन्टरनेशनल मास्टर अफ बिजनेस एडमिनिस्ट्रेसन (आईएमबीए) कार्यक्रम सुरु गर्न लागेको हो।

वि.सं. २०७० मा स्थापना भएको विराटनगर इन्टरनेशनल कलेजले विगत एक दशकदेखि गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै आएको छ।

शैक्षिक गतिविधिमा मात्र सीमित नरही कलेजले नेपालमा प्रविधि उद्योगको विकासका लागि सफ्टवेयर विकास तथा डिजिटल उत्पादनमा आधारित कम्पनीहरूको विस्तार गर्ने योजना अघि बढाएको अध्यक्ष बुढाथोकीले बताए। हाल आइएनजी ग्रुपले २५ वटा कम्पनी सञ्चालन गर्दै आएको छ।

पूर्वी नेपाललाई विश्वस्तरीय शिक्षा, प्रविधि तथा उद्यमशीलताको हबका रूपमा स्थापित गर्ने लक्ष्यसहित ठूलो लगानी थप गरिएको उनले बताए।

तपाईको प्रतिक्रिया