बागमती (सर्लाही)
मधेस प्रदेश घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाइ यतिबेला सर्लाहीको बागमती नगरपालिकामा निर्मित देशकै सबैभन्दा ठूलो मानवनिर्मित ताल ‘भरत ताल’ बन्न पुगेको छ। चुरे पर्वतको मनोरम फेदी र सधैं कलकल बगिरहेको बागमती नदीको किनारमा अवस्थित यो ताल अहिले सर्लाहीको मात्र नभई सिंगो मधेस प्रदेशकै एउटा नयाँ र आकर्षक पहिचानको रूपमा स्थापित भइसकेको छ। झट्ट हेर्दा समुद्रकै अनुभूति गराउने यस विशाल मानवनिर्मित संरचनाले नेपालदेखि छिमेकी भारतको बिहार प्रान्तसम्मका हजारौँ पर्यटकलाई दैनिक रूपमा आकर्षित गरिरहेको छ।
परिकल्पना माछा पोखरीको, परिचय ‘भरत ताल’ को
विगतमा बागमती नदीको बगर र बाँझो जमिनको रूपमा रहेको खाली भू-भागलाई स्थानीय सरकारको दूरदर्शिता र विशेष पहलले आज मधेसकै एउटा चम्किलो पर्यटकीय साम्राज्यमा रूपान्तरण गरिदिएको छ। देशका अन्य पालिकाहरू भ्यू टावर बनाएर आम्दानी बढाउने परम्परागत र अनुत्पादक योजनामा अल्झिरहँदा बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुख भरतकुमार थापाले भने बहुउद्देश्यीय परियोजनाको परिकल्पना गरेर एउटा पृथक् र उदाहरणीय काम देखाएका छन्।
नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ बाट आम्दानीको स्रोत बढाउन र माछापालन गर्ने लक्ष्यका साथ ‘बागमती माछापोखरी’ योजना अन्तर्गत बाँझो जमिन खन्न सुरु गरेको थियो। तर, पोखरी बनाउँदै जाँदा यसले १४ वटा फुटबल मैदान जत्रो अर्थात् १२१ बिघा क्षेत्रफल ओगट्ने विशाल आकार लियो र पछि यसलाई भव्य पर्यटकीय तालकै रूपमा विकास गरियो। आधिकारिक रूपमा निर्माणस्थलको बोर्डमा अझै पनि ‘बागमती माछा पोखरी परियोजना’ नै नामकरण गरिएको भए तापनि, नगर प्रमुख भरतकुमार थापाकै विशेष नेतृत्व र परिकल्पनामा यो काम भएकाले स्थानीयवासी र पर्यटकहरूले स्वतः यसलाई ‘भरत ताल’ भनिदिए। सामाजिक सञ्जालमा यो नाम यसरी भाइरल भयो कि ताल वरपरका होटल, पसलदेखि लिएर यहाँ चल्ने सवारीसाधन र बोटहरूमा समेत ‘भरत ताल’ नै लेखिएपछि यो नाम देश-विदेशमा प्रख्यात बन्न पुग्यो।
६० करोडदेखि ९८ करोडको यात्रा: कानुनी झमेलाले काम रोकिँदा पनि पर्यटकीय क्रेज कायमै
यो बहुउद्देश्यीय पर्या-पर्यटन परियोजनाको निर्माण कार्य सुरुवाती चरणमा निकै तीव्र गतिमा अगाडि बढेको थियो। ताल र यसको वरपरको प्रारम्भिक संरचना बनाउन ६० करोडभन्दा बढी रकम खर्च गरिसकेको नगरपालिकाले हालसम्म आइपुग्दा कुल ९८ करोड रुपैयाँ खर्च भइसकेको आधिकारिक तथ्याङ्क छ। यस बृहत् परियोजनामा मधेस प्रदेश सरकारको ८० प्रतिशत, स्थानीय सरकार (बागमती नगरपालिका) को १५ प्रतिशत र संघीय सरकारको ५ प्रतिशत लागत साझेदारी रहेको छ।
यसरी कानुनी अड्चनका कारण मुख्य कामहरू रोकिए तापनि भरत तालको क्रेज र रौनक भने कति पनि घटेको छैन। अचम्मको कुरा त के छ भने, हालसम्म निर्माण भइसकेका सिमित भौतिक संरचना, पार्क र बोटिङ क्षेत्रकै भरमा पनि यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको भीड थामिनसक्नु छ। अपुरो अवस्थामै रहेको यो ताल क्षेत्र अहिले पनि स्वदेशी र भारतीय पर्यटकका लागि मधेसकै सबैभन्दा चल्तीको ‘हब’ बनिरहेको छ। कानुनी प्रक्रिया सुल्झिएर बाँकी रहेको १ अर्ब रुपैयाँ बराबरको बहुउद्देश्यीय गुरुयोजनाले पूर्णता पाउने हो भने यो क्षेत्र दक्षिण एसियाकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने आधार हाल निर्मित संरचनामा ओइरिएका पर्यटकको भीडले प्रमाणित गरिसकेको छ।
शिव-पार्वतीको सुमेरु पर्वतदेखि ‘मिनी क्यासिनो’: योजना अधुरो भए पनि पर्यटकीय आकर्षण उत्तिकै
बागतमी नगरपालिकाले वार्षिक करिब ६० लाख पर्यटक आकर्षित गर्ने महत्त्वाकाङ्क्षी लक्ष्यका साथ तालको दक्षिण र पश्चिम भागमा पर्ने बाँझो जमिनलाई समेटेर १२५ बिघा क्षेत्रफलमा एउटा विशाल नगर बगैँचा र पार्क निर्माणको काम अगाडि बढाएको थियो। उक्त क्षेत्रमा आँप, लिची लगायतका फलफूलका विभिन्न बिरुवाहरू रोपिएका छन्। पर्यटकलाई विश्वस्तरीय सेवासुविधा दिनका लागि तालकै बीच भागमा ७ करोडको लागतमा एउटा सुविधासम्पन्न र अत्याधुनिक होटल निर्माण सुरु गरिएको थियो, जसमा मिनी क्यासिनोको समेत व्यवस्था गरिने योजना तत्कालीन नेतृत्व र वडा नं. १२ का वडाध्यक्ष ओमबहादुर श्रेष्ठले अघि सारेका थिए।
यसबाहेक, तालको उत्तरपट्टिको भागमा सुमेरु पर्वतको सुन्दर आकृति बनाएर त्यहाँ शिव-पार्वतीको विशाल मूर्ति स्थापना गर्ने, जहाँ भगवान् शिवको जटाबाट पानी कलकल झरेको आकर्षक स्वरूप देखिने योजना नगर उपप्रमुख लीलाकुमारी मोक्तानले सार्वजनिक गरेकी थिइन्। यसका साथै तालपरिसरमा ३० वटा अत्याधुनिक वनभोज स्थल (पिकनिक स्पट), ५० वटा चौतारा र प्रतीक्षालयहरू बनाउने तथा चलचित्र विकास बोर्डको प्रस्तावमा यहाँ चलचित्र छायाङ्कन (मुभी सुटिङ) क्षेत्र र सिङ्गो देशको झल्को दिने ‘मिनी नेपाल’ बनाउने अद्भुत परिकल्पना गरिएको थियो।
तर, वर्तमान समयमा निर्माण प्रक्रियामा आइलागेको कानुनी अड्चन र बजेटको अन्योलताका कारण यी बृहत् र विलासी योजनाहरू हाललाई पूर्ण रूपमा रोकिएर अधुरो अवस्थामै सीमित बन्न पुगेका छन्। अचम्मको कुरा त के छ भने, योजनाहरू कागजमै थन्किएर भौतिक संरचनाहरू अधुरै रहँदा पनि यहाँ आउने पर्यटकहरूको सङ्ख्यामा भने कुनै कमी आएको छैन। हाल जति पार्क र हरियाली क्षेत्र बनेको छ, त्यतिमै पनि रमाउन, टिकटक बनाउन र घुमफिर गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको भीडले भरत तालको साखलाई मधेस प्रदेशकै शीर्ष स्थानमा कायमै राखेको छ।
पर्यावरणीय बरदान र ‘वाटर रिचार्ज’ को रूपमा ताल
प्रकृतिको काखमा अवस्थित १५ देखि ४५ फिटसम्म गहिरो यो विशाल ताल पर्यटकीय दृष्टिले मात्र नभई पर्यावरणीय र कृषिका लागि समेत वरदान साबित भएको छ। मधेस क्षेत्रमा चुरे दोहनका कारण जमिनमुनिको पानीको सतह घट्दै गएको र पानीका मुहानहरू दिन प्रतिदिन सुक्दै गइरहेका बेला यो १२१ बिघाको जलाशयले ‘वाटर रिचार्ज’ को काम गरिरहेको छ। जसका कारण पहिले सुकेका तल्लो भेगका रैथाने कुवा र इनारहरूमा ताल निर्माण भएपछि स्वतः पानी भरिन थालेको स्थानीयले अनुभव गरेका छन्।
यो तालमा पानीको कमी कहिल्यै हुन नदिन नजिकै बहने बागमती नदीबाट पानी हाल्ने स्थायी व्यवस्था मिलाइएको छ। पानीको निकासका लागि आधुनिक ‘सुली गेट’ बनाइएकाले एकातिरबाट नदीको नयाँ पानी हाल्ने र अर्कोतिरबाट जमेको पानी निकाल्ने गरिन्छ। यो निरन्तर जल-प्रवाहका कारण तालको पानी कहिल्यै फोहोर हुँदैन र दुर्गन्धित हुने सम्भावना पनि रहँदैन। यद्यपि, गहिराइ बढी भएकाले र पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै तालमा मानिसहरूलाई पौडी खेल्न र माछा मार्न पूर्ण रूपमा निषेध गरिएको छ।
साहसिक जल-विहार र मनोरञ्जनका अनेक साधन
भरत ताल पुग्ने पर्यटकहरूका लागि मनोरञ्जन र साहसिक खेलका थुप्रै विकल्पहरू तयार पारिएका छन्। तालमा तीव्र गतिमा कुद्ने मोटरबोटदेखि मिनी क्रुज र ३५ सिट क्षमता भएको जेटबोटले पर्यटकलाई नेपालमै बसेर समुद्रमा घुमेको जस्तो रोमाञ्चक आभास दिलाउने गरेको छ। हाल तालमा २६ वटा अत्याधुनिक इलेक्ट्रोनिक बोटसहित साना-ठूला गरी करिब ४० वटा डुङ्गाहरू सञ्चालनमा आइसकेका छन्।
बोटिङ टिकट काउन्टरका सरोज श्रेष्ठका अनुसार बिदाको दिनबाहेक सामान्य दिनमा पनि दैनिक एक लाख रुपैयाँसम्मको टिकट बिक्री हुने गरेको छ भने शनिबार, आइतबार र अन्य सार्वजनिक बिदाका दिनमा दुई हजारभन्दा बढी पर्यटकले बोटिङको आनन्द लिने गरेका छन्। बोटिङका अतिरिक्त तालको एक छेउमा रोमाञ्चक ‘एडभेन्चर स्काई साइक्लिङ’, घोडचढी, उँटचढी र बालबालिकाहरूका लागि अत्याधुनिक खेल सामग्रीसहितको बाल उद्यान (फनपार्क) समेत सञ्चालनमा छ। तालको पानीमा पौडिइरहने हंसराज प्रजातिका हाँसहरू र हावाको बेगसँगै छल्किने पानीको फोहोराले यहाँको सौन्दर्यलाई थप लोभलाग्दो बनाएको छ।
स्थानीय अर्थतन्त्रमा क्रान्ति: काम रोकिए पनि ५०० लाई प्रत्यक्ष रोजगारी र करोडौँको आम्दानी
वि.सं. २०७८/०७९ बाट आंशिक रूपमा सञ्चालनमा आएको यस तालले मधेसको आर्थिक र सामाजिक जनजीवनमा अभूतपूर्व क्रान्ति ल्याएको छ। बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माका अनुसार, हाल निर्माण कार्य रोकिएको विषम परिस्थितिमा पनि यस तालमा भइरहेको बोटिङ र अन्य व्यवसायबाट मात्र नगरपालिकालाई वार्षिक १ करोड रुपैयाँभन्दा बढीको प्रत्यक्ष आन्तरिक आम्दानी भइरहेको छ। आगामी दिनमा कानुनी अड्चनहरू सुल्झिएर दुवै खण्ड (उत्तरी र दक्षिणी) पूर्ण रूपमा निर्माण भई सञ्चालनमा आउन सके यो आयस्रोत अझै कयौँ गुणा बढ्ने नगरपालिकाको विश्वास छ।
रोजगारीको सवालमा यो आयोजना मधेसकै सबैभन्दा ठूलो र दिगो स्रोत बनेको छ। ठूला भौतिक निर्माणका कामहरू ठप्प भए तापनि हाल चालू रहेका पर्यटकीय गतिविधिमार्फत दैनिक ५०० भन्दा बढी स्थानीयले प्रत्यक्ष रूपमा रोजगारी पाइरहेका छन् भने करिब १ हजारभन्दा बढी मानिसले अप्रत्यक्ष रोजगारी पाएका छन् । कृषि कार्य छोडेर तालमा बोट चालक (बोट क्याप्टेन) को रूपमा रोजगारी पाएका स्थानीय युवा सन्तोषकुमार एस्मालीले आफ्नै गाउँघरमा बसेर महिनाको २५ हजार रुपैयाँसम्म कमाउन पाउँदा निकै खुसी लागेको बताए। ताल बनेपछि खुलेका छेउछाउका होटल, रेस्टुरेन्ट, साना खाजाघरहरू र पर्यटकको चापका कारण स्थानीय अटो रिक्सा व्यवसायीहरूको व्यापार निकै फस्टाएको छ।
यस तालको देशव्यापी चर्चा र लोकप्रियताले गर्दा बागमती नगरपालिका मात्र नभई यसको ५ किलोमिटर आसपासको दूरीमा रहेका रौतहटको प्रसिद्ध ‘नुनथर क्षेत्र’ र सर्लाहीकै ऐतिहासिक ‘हरिहर क्षेत्र’ मा समेत पर्यटकहरूको आगमन र आर्थिक चहलपहलमा निकै ठूलो वृद्धि भएको छ। ताल घुम्न आएका बारा सिमराका चन्देश्वर चौधरी र रौतहट यमुनामाई नगरपालिकाकी ५५ वर्षीया वडा सदस्य दीपिया देवीले पहिले ताल र बोटिङ हेर्न पोखरासम्म धाउनुपर्ने बाध्यता रहेकामा अब आफ्नै छिमेकी जिल्लामा पोखराको लेकसाइडको भन्दा बढी आनन्द लिन पाएकोमा गौरव व्यक्त गरे।
यस तालको निर्माण र सौन्दर्यकरणका क्रममा प्रशासनिक रूपमा कानुनी विवाद र अनियमितताका चर्चाहरू बाहिर आएर अहिले काम रोकिन पुगे तापनि, यसले स्थानीय स्तरमा पुर्याएको बहुउद्देश्यीय फाइदा र आर्थिक समृद्धिका अगाडि ती आलोचनाहरू फिका सावित भएका छन्। बगर र बाँझो जमिनलाई कानुनी उतारचढावका बीच पनि कसरी एउटा जीवन्त पर्यटकीय साम्राज्य र समृद्धिको बलियो आधार बनाइराख्न सकिन्छ भन्ने कुराका लागि बागमती नगरपालिकाको यो ‘भरत ताल’ परियोजना सिंगो देशका ७५३ वटै स्थानीय तहका लागि एउटा उत्कृष्ट र ऐतिहासिक ‘सिकाई मोडेल’ बनेको छ।
तस्विरमा भरत ताल









