उर्लाबारी । उर्लाबारी नगरपालिकालाई आर्थिक वर्ष २०८२/०८३ का लागि “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका” घोषणा गरिएको छ। नगरसभाको बैठकमा स्वास्थ्य तथा सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ९ का अध्यक्ष नरबहादुर मोक्तानले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको हो।
नगरसभामा प्रस्तुत विवरणअनुसार चालु आर्थिक वर्षमा नगरपालिकाका सबै वडामा गरिएको घरधुरी सर्वेक्षणबाट पाँच वर्षमुनिका ४ हजार ६ सय ४२ जना बालबालिकाको खोप अवस्थाको लेखाजोखा गरिएको थियो। सर्वेक्षणका क्रममा खोप छुट भएका ३७ जना बालबालिकाको पहिचान गरी उनीहरूलाई आवश्यक खोप सेवा प्रदान गरिएको जनाइएको छ।
नगरपालिकाले १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र प्राप्त गर्नुपर्ने सम्पूर्ण खोप प्राप्त गरेको सुनिश्चित गरेपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाको प्रक्रिया पूरा भएको हो।
कार्यक्रमलाई सफल बनाउन नगर तथा वडा खोप समन्वय समितिका बैठक तथा अभिमुखीकरण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको परिचालन, स्वास्थ्यकर्मीमार्फत घरधुरी सर्वेक्षण, खोप छुट बालबालिकाको खोजी तथा खोप सेवा, द्रुत सहज अनुगमन (आरसीएम), क्रस भेरिफिकेसन, रि–भेरिफिकेसन, अनुगमन तथा सुपरिवेक्षणलगायत वडा स्तरीय पूर्ण खोप घोषणा कार्यक्रम सञ्चालन गरिएको थियो।
नगरपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा समुदायबीचको सक्रिय सहकार्यका कारण नियमित खोप कार्यक्रम प्रभावकारी, गुणस्तरीय र दिगो बन्न सहयोग पुगेको नगरपालिकाले जनाएको छ।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमअन्तर्गत विभिन्न गतिविधि सञ्चालन गर्न कुल ३ लाख ४६ हजार २ सय ९५ रुपैयाँ खर्च भएको विवरण नगरसभामा प्रस्तुत गरिएको थियो।
प्रस्ताव प्रस्तुत गर्दै समितिका संयोजक मोक्तानले बालबालिकाले नियमित खोप प्राप्त गर्नु बालअधिकारको विषय भएकाले नगरपालिकाले खोप सेवा सुनिश्चित गर्न निरन्तर काम गर्दै आएको बताएका छन् । उनले आगामी वर्षहरूमा पनि पूर्ण खोपको अवस्था कायम राख्न आवश्यक कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिएका छन् ।

-राष्ट्रिय समाचारपत्रको सहयोगमा

तपाईको प्रतिक्रिया