काठमाण्डाै – नेपाल राष्ट्र बैंकले बैंकहरूको मुद्दती निक्षेपमा २ अर्ब ७७ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

केन्द्रीय बैंकले विभिन्न कोषमा रहेको २ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । यसका लागि भदौ ८ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरूलाई आह्वान गरेको छ ।

राष्ट्र बैंकले लगानी गर्ने कुल रकममध्ये वाणिज्य बैंकमा २ अर्ब २२ करोड १४ लाख, राष्ट्रियस्तरका विकास बैंकमा ४१ करोड ६५ लाख र राष्ट्रियस्तरका वित्त कम्पनीमा १३ करोड ८८ लाख रुपैयाँ रहेकाे छ । राष्ट्र बैंकले भदौ २६ गतेदेखि मुद्दती निक्षेपमा गर्ने यो लगानी ३ सय ६६ दिनका लागि हुनेछ ।

प्रस्ताव अन्तर्गत वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंक तथा राष्ट्रियस्तरका वित्त कम्पनीहरूले तोकिएको रकमका लागि प्रतिस्पर्धात्मक प्रस्ताव पेश गर्न सक्नेछन् । बैंक तथा वित्तीय संस्थाहरूका लागि तोकिएका त्यस्ता शर्तहरूमा प्रस्ताव पेश गर्न चाहने बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको वेबसाइटमा प्रकाशित सूचना तथा उल्लेख गरिएका सम्पूर्ण शर्तहरू पूरा गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाको कायम पूँजी न्यूनतम पुँजीको अनुपात बर्फरसहित कायम गरिएको हुनुपर्ने, निष्क्रिय कर्जा (एन.पी.एल) अनुपात ८ प्रतिशत र खुद निष्क्रिय कर्जा (खुद एन.पी.एल) अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्नेछ ।

तपाईको प्रतिक्रिया