विराटनगर । अंगीकृत नेपाली नागरिकता प्राप्त गर्न झुटो विवरणका आधारमा सिफारिस दिएको आरोपमा मोरङको रंगेलीका वडाध्यक्ष वडा सदस्य पक्राउ परेका छन् ।
रंगेली नगरपालिका–५ का वडाध्यक्ष ५५ वर्षीय महानन्द मण्डल र वडा सदस्य ४६ वर्षीय गणेश ऋषिदेवलाई पक्राउ गरिएको मोरङ प्रहरीका सूचना अधिकारी, डीएसपी मकेन्द्रकुमार मिश्रले बताए । उनका अनुसार मनुवाकुमार महतो नामका व्यक्तिले अधनुनिया महतो आफ्नी आमा भएको भनी नागरिकताका लागि झुटो विवरण पेस गरेका थिए ।
प्रशासनको निर्देशनका आधारमा दुवै जनालाई बिहीबार पक्राउ गरेर अनुसन्धान एवं कारबाहीको दायरामा ल्याइएको डीएसपी मिश्रले बताए । पक्राउ परेका दुवै जनामाथि नागरिकता किर्तेसम्बन्धी कसुरमा अनुसन्धान गरिने जानकारी उनले दिए । उनका अनुसार घटनासम्बन्धी थप प्रमाण संकलन गर्ने कार्य जारी छ ।
प्रहरीले नागरिकता प्राप्ति प्रक्रियामा झुटा विवरण पेस गरिएको तथा त्यसमा स्थानीय जनप्रतिनिधिहरूको भूमिका रहेको आशंकामा अनुसन्धान केन्द्रित गरेको छ । नक्कली महिलालाई आमा खडा गरेर अंगीकृत नागरिकता लिएका मनुवाकुमार भने फरार रहेको डीएसपी मिश्रले बताए । उनका अनुसार फरार रहेकाको खोजी भइरहेको छ ।
मनुवाकुमारको नक्कली आमा बनेकी अधनुनियालाई पनि अनुसन्धानको दायरामा ल्याउने प्रहरीको तयारी छ । अनुसन्धानबाट प्राप्त हुने तथ्यका आधारमा यस प्रकरणमा थप व्यक्ति पनि कानुनी दायरामा आउन सक्ने प्रहरीको अनुमान छ ।







