विराटनगर, असार ११ – पशु क्वारेन्टाइन कार्यालय विराटनगरको आयोजनामा खोरेत रोग नियन्त्रण कार्यक्रम अन्तर्गत अवैध पशु पैठारी नियन्त्रणका लागि कार्यदल गठन तथा परिचालन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

ईलाका प्रहरी कार्यालय बुधनगरमा आयोजित कार्यक्रममा पशु क्वारेन्टाइन कार्यालय विराटनगरका कार्यलय प्रमुख डा विदुर प्रसाद गौतमको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा सीमावर्ती क्षेत्रबाट हुने अवैध पशु ओसारपसारका कारण पशुजन्य रोग फैलिन सक्ने जोखिमबारे छलफल गरिएको थियो ।कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका वार्ड १८ का वडा अध्यक्ष जीतेन्द्र कुमार साहले भारतसँग जोडिएका खुला नाकाहरू हुँदै हुने अवैध पशु पैठारीले पशु स्वास्थ्यमा चुनौती थपिएको भन्दै त्यसलाई रोक्न संयुक्त रूपमा काम गर्नुपर्नेमा जोड दिनुभयोे । उहाँले पशु स्वास्थ्य सुरक्षा, कृषकको हित संरक्षण तथा पशुपालन क्षेत्रको दिगो विकासका लागि सबै निकायबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।

छलफलमा सहभागीहरूले खोरेत रोग नियन्त्रणका लागि प्रभावकारी अनुगमन, नियमित जाँच तथा सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको औंल्याएका थिए । रोग नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन तथा अवैध रूपमा भित्रिने पशु तथा पशुजन्य वस्तुको निगरानी बढाउन कार्यदल गठन गरी परिचालन गर्ने निर्णय गरिएको छ । कार्यदलले सीमावर्ती क्षेत्रमा नियमित अनुगमन, सचेतनामूलक कार्यक्रम सञ्चालन तथा आवश्यक परे संयुक्त सुरक्षा निगरानी समेत पशु क्वारेन्टाईन कार्यालयकी सूचना अधिकारी खिला बोगटीले जानकारी दिनुभयो ।

कार्यक्रममा पशु क्वारेन्टाइन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल विओपी जहदा भुटहा , स्थानीय तह तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया