सोलुखुम्बु— सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले स्थानीय उत्पादन, कृषि तथा पूर्वाधार विकासलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु. ५८ करोड ९४ लाख ३६ हजार ९९२ बराबरको बजेट सार्वजनिक गरेको छ।
बुधबार सम्पन्न गाउँसभामा कार्यवाहक अध्यक्ष सविता राईले बजेट प्रस्तुत गर्नुभएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो।
प्रवक्ता कार्कीका अनुसार संघीय सरकार, कोशी प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान, राजस्व बाँडफाँड तथा गाउँपालिकाको आन्तरिक स्रोतलाई आधार बनाएर बजेटको आकार निर्धारण गरिएको हो। बजेटमा संघीय समानीकरण अनुदानतर्फ रु. १२ करोड ५१ लाख, सशर्त अनुदान रु. २८ करोड ५४ लाख, विशेष अनुदान रु. २ करोड ५ लाख तथा समपूरक अनुदान रु. १ करोड ५८ लाख विनियोजन गरिएको छ। संघीय राजस्व बाँडफाँडबाट गाउँपालिकाले रु. ९ करोड ३१ हजार प्राप्त गर्ने जनाएको छ।
त्यस्तै प्रदेश सरकारबाट समानीकरण अनुदान रु. १ करोड १९ लाख ५८ हजार, सशर्त अनुदान रु. १ करोड ३ लाख तथा राजस्व बाँडफाँडबाट रु. ६४ लाख ३५ हजार ९९२ प्राप्त हुने अनुमान गरिएको छ। गाउँपालिकाको आन्तरिक स्रोतबाट रु. २ लाख ४७ हजार ८५ रुपैयाँ संकलन हुने लक्ष्य राखिएको छ।
गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा स्थानीय उत्पादन र उद्यमशीलतालाई विशेष प्राथमिकता दिइएको छ। घरेलु तथा साना उद्योग सञ्चालनमा अनुदान प्रदान गर्ने, परम्परागत खेतीबालीको संरक्षण तथा प्रवर्द्धन गर्ने र कृषि उत्पादन वृद्धि गर्ने कार्यक्रम समावेश गरिएको छ।
पूर्वाधार विकासअन्तर्गत गाउँपालिकाका गौरवका आयोजनामध्ये चारघरे–मुक्ली सडक कालोपत्रे, नेले–बोगल–दिप्लीघाट सडक कालोपत्रे तथा खेलग्राम निर्माण कार्यलाई तीव्रता दिइने उल्लेख गरिएको छ।
शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि रिड नेपाल, साहस नेपाल लगायतका संस्थासँग सहकार्य गरी शैक्षिक मेला, अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। साथै प्रधानाध्यापकको भत्ता वृद्धि, उत्कृष्ट शिक्षक तथा विद्यालयलाई पुरस्कारको व्यवस्था, शिक्षक दरबन्दी मिलान तथा विद्यार्थी सङ्ख्या न्यून भएका विद्यालय गाभ्ने कार्यक्रमसमेत अघि सारिएको छ।
गाउँपालिकाले प्रस्तुत गरेको बजेट तथा नीति कार्यक्रमले उत्पादन वृद्धि, पूर्वाधार विकास र शिक्षा सुधारलाई केन्द्रमा राख्दै समग्र स्थानीय विकासलाई गति दिने अपेक्षा गरिएको छ।







