झापा । बालबालिकाको स्वास्थ्य उपचारलाई केवल रोग निको पार्ने प्रक्रियामा सीमित नराखी रोकथाम, नियमित निगरानी र समग्र विकाससँग जोड्ने अवधारणासहित ‘‘डा. रबिन्स पेडियाट्रिक क्लिनिक’ सञ्चालनमा आएको छ। क्लिनिकले आधुनिक प्रविधिसहित तुलनात्मक रूपमा किफायती सेवा उपलब्ध गराउने लक्ष्य राख्दै बाल स्वास्थ्य क्षेत्रमा नयाँ अभ्यास सुरु गरिएको डा. रवीन रेग्मीले जानकारी दिए ।

क्लिनिकले सार्वजनिक गरेको भावी कार्ययोजनाअनुसार बालबालिकाको शारीरिक तथा मानसिक विकासको नियमित अनुगमन, पोषण परामर्श, रोगको प्रारम्भिक पहिचान र रोकथाममुखी स्वास्थ्य सेवामा विशेष ध्यान दिइनेछ। उपचार केन्द्रित परम्परागत अभ्यासभन्दा अघि बढेर बालबालिकाको समग्र स्वास्थ्य अवस्थालाई दीर्घकालीन रूपमा सुदृढ बनाउने लक्ष्य लिइएको क्लिनिकले जनाएको छ।

बिर्तामोडमा सञ्चालित क्लिनिकले नवजात शिशु तथा आमाको स्वास्थ्यलाई लक्षित गर्दै ल्याक्टेसन कन्सल्टेन्ट ‘स्तनपान परामर्श’ सेवा समेत सञ्चालन गर्ने तयारी गरेको छ। स्तनपान गराउने सही तरिका, शिशुलाई दूध चुसाउने उपयुक्त अवस्था तथा प्रारम्भिक पोषणसम्बन्धी परामर्शमार्फत शिशुको स्वस्थ विकासमा योगदान पुर्‍याउने उद्देश्य राखिएको छ।

बाल स्वास्थ्य क्षेत्रमा अझै पनि धेरै अभिभावक उपचारका लागि मात्र अस्पताल पुग्ने प्रवृत्ति रहेको अवस्थामा क्लिनिकले ‘फोकस अन प्रिभेन्टिभ हेल्थ’ अर्थात् रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्नै नदिने अवधारणालाई प्राथमिकता दिएको छ। नियमित स्वास्थ्य परीक्षण, वृद्धि विकासको निगरानी, खोप तथा पोषण व्यवस्थापनलाई सेवाको मुख्य आधार बनाइने बताइएको छ।

क्लिनिकले विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ को वृद्धि मापदण्डअनुसार बालबालिकाको तौल, उचाइ र विकास अवस्थाको नियमित मूल्याङ्कन गर्ने व्यवस्था समेत मिलाएको जनाएको छ। यसबाट बालबालिकामा कुपोषण, वृद्धि अवरोध वा अन्य स्वास्थ्य समस्या प्रारम्भिक चरणमै पहिचान गर्न सहज हुने अपेक्षा गरिएको छ।

सेवाको अर्को विशेषता भनेको ‘होलिस्टिक एन्ड क्वालिटी पेडियाट्रिक केयर’ अर्थात् समग्र र गुणस्तरीय बाल स्वास्थ्य सेवा हो। शारीरिक उपचारसँगै पोषण, व्यवहार, विकास र पारिवारिक स्वास्थ्य शिक्षालाई समेत उपचार प्रक्रियासँग जोडिने क्लिनिकको अवधारणा छ।

क्लिनिकले भविष्यमा बाल स्वास्थ्य क्षेत्रमा थप विशिष्टीकृत सेवा विस्तार गर्ने दीर्घकालीन योजना पनि अघि सारेको छ। सार्वजनिक गरिएको ‘फ्युचर सुपरस्पेसियालिटी रोडम्याप’ अन्तर्गत बाल रोगका विभिन्न विशेषज्ञ सेवा, अनुसन्धान तथा तालिम केन्द्र स्थापना, आधुनिक डायग्नोस्टिक सुविधा विस्तार र उच्चस्तरीय बाल स्वास्थ्य सेवा विकासको लक्ष्य निर्धारण गरिएको छ।

बाल स्वास्थ्य सेवामा बढ्दो आवश्यकता र अभिभावकको अपेक्षालाई ध्यानमा राख्दै सुरु गरिएको यो पहलले गुणस्तरीय, पहुँचयोग्य र रोकथाममुखी स्वास्थ्य सेवा विस्तारमा योगदान पुर्‍याउने विश्वास क्लिनिक व्यवस्थापनको छ। बालबालिकाको स्वस्थ भविष्य निर्माणलाई केन्द्रमा राखेर अघि बढाइएको यो अवधारणाले नेपालको बाल स्वास्थ्य क्षेत्रमा नयाँ बहस र अभ्यासको सुरुआत गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया