काठमाडौं। इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसनले एक वर्षमै सवा १२ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८१/८२ (सन् २०२५) मा १२ अर्ब १३ करोड १० लाख रुपैयाँ बराबरको कारोबार गरेको हो।

कम्पनीको व्यवसाय विस्तार र वित्तीय प्रदर्शनमा देखिएको निरन्तर सुधारका आधारमा रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले वर्ल्डलिंकको पौने ३ अर्बको ऋण साख मूल्यांकन (क्रेडिट रेटिङ) स्तरोन्नति गरेको छ। एजेन्सीले कम्पनीको १ अर्ब १ करोड रुपैयाँको दीर्घकालीन बैंक कर्जाका लागि ‘ए प्लस’ र १ अर्ब ७५ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि ‘ए वान’ रेटिङ प्रदान गरेको छ। साख मूल्यांकनमा भएको यो सुधारले वर्ल्डलिंकको वित्तीय दायित्व पूरा गर्ने क्षमता बलियो रहेको र लगानीमा न्यून कर्जा जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको पछिल्ला वर्षहरूको कारोबार हेर्दा आम्दानीको ग्राफ उकालो लागेको देखिन्छ। आर्थिक वर्ष २०२३ मा १० अर्ब ३३ करोड २० लाख रुपैयाँको कारोबार गरेको वर्ल्डलिंकले २०२४ मा ११ अर्ब १२ करोड ८० लाखको कारोबार गरेको थियो। आर्थिक वर्ष २०२५ मा आइपुग्दा कम्पनीको कुल सञ्चालन आम्दानी अघिल्लो वर्षको तुलनामा ९.०१ प्रतिशतले वृद्धि भएको छ।

यो वृद्धिलाई चालू आर्थिक वर्ष २०२६ मा पनि कम्पनीले निरन्तरता दिएको छ। चालू वर्षको पहिलो ९ महिना (साउनदेखि चैतसम्म) को अपरिष्कृत वित्तीय विवरणअनुसार वर्ल्डलिंकले ९ अर्ब ५५ करोड ८० लाख रुपैयाँको कारोबार गरिसकेको छ। कम्पनीको कुल आम्दानीमा इन्टरनेट सेवाको हिस्सा ५१ प्रतिशत, प्राविधिक सहयोगको ४३ प्रतिशत र बाँकी ६ प्रतिशत अन्य सेवाहरूको रहेको छ।

व्यापार विस्तारसँगै चालु खर्च व्यवस्थापनमा सहजता आएपछि कम्पनीले करिब ४ अर्ब रुपैयाँको कर्जा सीमा समेत घटाएको छ। वर्ल्डलिंकको वित्तीय अवस्थालाई वैदेशिक लगानीले थप सुदृढ बनाएको छ। फिनल्याण्डको सरकारी विकास वित्त संस्था ‘फिनिस फण्ड’ बाट १ अर्ब ३९ करोड ५० लाख रुपैयाँ बराबरको नयाँ स्वपुँजी भित्रिएसँगै कम्पनीको पूँजीगत संरचना मजबुत बनेको छ।

यसअघि बेलायतको ‘ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट’ ले १ अर्ब ८ करोड र डोल्मा इम्प्याक्ट फण्डले ९० करोड रुपैयाँ लगानी गरेका थिए। हालसम्म वर्ल्डलिंकमा भित्रिएको कुल वैदेशिक लगानी ४ अर्ब ३७ करोड ५० लाख रुपैयाँ पुगेको छ। यो वैदेशिक लगानीलाई कम्पनीले आफ्नो नेटवर्क पूर्वाधार विस्तार र प्रविधि सुधारमा उपयोग गर्दै आएको छ।

वित्तीय सूचकहरूको विश्लेषण गर्दा वर्ल्डलिंकको मुनाफा आर्जन गर्ने क्षमता राम्रो देखिएको छ। आर्थिक वर्ष २०२५ मा कम्पनीको सञ्चालन मुनाफा ३२.६१ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्ष ३१.४५ प्रतिशत थियो। कम्पनीको ब्याज तिर्ने क्षमता ११.८४ बाट सुधार भएर १३.८९ गुणा पुगेको छ। त्यस्तै, कम्पनीको नेटवर्थको तुलनामा ऋणको अनुपात ०.८२ गुणा मात्र रहेकोमा वैदेशिक लगानी थपिएपछि ०.४७ गुणामा झरेको छ। कम्पनीले आर्जन गरेको नगदबाट ऋण भुक्तानी गर्न सक्ने क्षमता सुधार भएर ०.९९ गुणामा आएको छ, जसले कम्पनीलाई वित्तीय रूपमा सुरक्षित देखाउँछ।

नेपाल दूरसञ्चार प्राधिकरणको प्रतिवेदनअनुसार वर्ल्डलिंक नेपालको इन्टरनेट बजारमा ३२ प्रतिशत हिस्सासहित नेतृत्वदायी स्थानमा रहेको छ। सन् २०२५ को जुलाई मध्यसम्म वर्ल्डलिंकका ग्राहक संख्या १० लाख १० हजार रहेकोमा सन् २०२६ को अप्रिलसम्म आइपुग्दा १० लाख ८० हजार नाघिसकेको छ। नयाँ ग्राहक थप्ने र पुराना ग्राहक टिकाइराख्ने क्षमताका कारण कारोबारमा वृद्धि भएको हो। कम्पनीको नेतृत्व संस्थापक तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले गरिरहेका छन् भने सञ्चालक समितिमा मनोज कुमार अग्रवाल र लक्ष्मण कुमार यादव रहेका छन्।

व्यवसाय विस्तार भए तापनि वर्ल्डलिंकका सामु केही व्यावसायिक चुनौतीहरू विद्यमान छन्। इन्टरनेट सेवा प्रदायकहरूबीचको तीव्र प्रतिस्पर्धाका कारण प्रति ग्राहक औसत आम्दानीमा गिरावट आएको छ। तीन वर्षअघि ९२७ रुपैयाँ रहेको प्रति ग्राहक आम्दानी सन् २०२५ मा ८४९ रुपैयाँमा झरेको छ।

यद्यपि, ग्राहक संख्या बढेकाले कुल आम्दानीमा भने वृद्धि भएको छ। कम्पनीको व्यवसाय पुँजी र प्रविधिप्रधान भएकाले नेटवर्क विस्तारका लागि निरन्तर ठूलो लगानी आवश्यक पर्दछ। त्यस्तै, उपकरण आयातका लागि वैदेशिक मुद्रामा भुक्तानी गर्नुपर्ने हुँदा डलरको विनिमय दरमा हुने उतारचढावले कम्पनीलाई विनिमय घाटाको जोखिम उत्पन्न हुने गरेको छ।

नियामक निकायले लिने नीतिगत परिवर्तन र विद्युत् प्राधिकरणको पूर्वाधार शुल्क जस्ता विषयहरूले पनि कम्पनीको सञ्चालन खर्चमा प्रभाव पार्न सक्छन्। यस्ता चुनौतीका बाबजुद वर्ल्डलिंकको स्थापित नेटवर्क र बलियो नगद प्रवाहले यसको व्यावसायिक भविष्यलाई सकारात्मक देखाएको रिपोर्टमा उल्लेख छ।

तपाईको प्रतिक्रिया