उर्लाबारी । उद्योग तथा वाणिज्य क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम उर्लाबारी उद्योग वाणिज्य संघको सभाहलमा बुधबार सम्पन्न भएको छ।
घरेलु तथा साना उद्योग कार्यालय, कोशी प्रदेशको आयोजनामा सम्पन्न कार्यक्रममा कार्यालय प्रमुख उद्योग अधिकृत भवानी घिमिरे प्रमुख अतिथिका रूपमा सहभागी भएको थिए। कार्यक्रमको सञ्चालन उद्योग अधिकृत यामनाथ बरालले गरे भने मोरङका प्रमुख उद्योग अधिकृत शंकर कार्कीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा विज्ञ चुडामणि न्यौपानेले उद्योगसम्बन्धी प्रचलित कानुन, उद्योग दर्ता प्रक्रिया, व्यवसायिक सामाजिक जिम्मेवारी, उद्योग स्थानान्तरण, क्षमता तथा पुँजी वृद्धि लगायतका विषयमा विस्तृत जानकारी दिएका छन् । उनले उद्योग ऐनका विभिन्न व्यवस्था तथा उद्योगले कानुन विपरीत कार्य गरेमा हुने सजायका विषयमा समेत प्रकाश पारेका छन् ।
अन्तरक्रियामा बोल्दै उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरेङले स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरूको प्रवर्द्धन आवश्यक रहेको बताएका छन् । उनले उत्पादनमुखी उद्योगलाई प्रोत्साहन गर्न सके स्थानीय रोजगारी र आर्थिक विकासमा टेवा पुग्ने धारणा राखेका छन् ।
कार्यक्रममा उद्योग दर्ता, अनुमति लिनुपर्ने उद्योगहरूको वर्गीकरण, संघीय र प्रदेश सरकारबीचको कार्यक्षेत्र विभाजन, उद्योग सञ्चालनका कानुनी प्रक्रिया, व्यवसायिक उत्पादन सुरु गर्ने समयसीमा, उद्योग स्थानान्तरण तथा व्यवसायिक सामाजिक जिम्मेवारी (CSR) सम्बन्धी व्यवस्थाबारे सहभागीहरूलाई जानकारी गराइएको थियो।
विज्ञ न्यौपानेले मझौला, ठूला तथा वार्षिक १५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने घरेलु तथा साना उद्योगहरूले वार्षिक खुद मुनाफाको कम्तीमा १ प्रतिशत रकम व्यवसायिक सामाजिक जिम्मेवारीका कार्यक्रमहरूमा खर्च गर्नुपर्ने कानुनी व्यवस्था रहेको जानकारी दिएका छन् ।
कार्यक्रममा उद्योगी, व्यवसायी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले उद्योग सञ्चालनका क्रममा देखिएका समस्या, कानुनी जटिलता तथा सरकारी सेवासम्बन्धी विषयमा जिज्ञासा राखेका थिए भने सम्बन्धित अधिकारीहरूले त्यसको जवाफ दिएका थिए।
उद्योग तथा व्यवसाय क्षेत्रलाई कानुनी रूपमा व्यवस्थित, प्रतिस्पर्धी र जिम्मेवार बनाउन यस्ता अन्तरक्रिया कार्यक्रम प्रभावकारी हुने सहभागीहरूले बताएका छन्।
उद्योग–वाणिज्य क्षेत्रका सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न







