काेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–२ दलेलीस्थित कानेपोखरी–रंगेली सडकखण्डबाट प्रहरीले भन्सार छली गरी ल्याइएका विभिन्न खाद्यान्न तथा उपभोग्य सामग्रीसहित एक मिनी ट्रक नियन्त्रणमा लिएको छ।
दक्षिणतर्फको रंगेली बजारबाट उत्तरतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ४४४४ नम्बरको सेतो मिनी ट्रकलाई प्रहरीले नियमित चेकजाँचका क्रममा रोकेको थियो। जाँचका क्रममा ट्रकमा भन्सार प्रक्रिया पूरा नगरी ल्याइएका विभिन्न खाद्यान्न तथा उपभोग्य सामग्री फेला परेपछि ट्रकसहित सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद गरिएका सामान तथा सवारी साधनको अनुमानित मूल्य करिब १३ लाख ७० हजार रुपैयाँ रहेको छ। नियन्त्रणमा लिइएको ट्रक र सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।
प्रहरीले भन्सार छली तथा अवैध ओसारपसार नियन्त्रणका लागि जिल्लाका विभिन्न स्थानमा नियमित निगरानी र चेकजाँचलाई थप कडाइ गरेको जनाएको छ।
अवैध सामानसहित मिनी ट्रक नियन्त्रणमा







