मोरङ – नेपाल चिकित्सक संघ कोशी शाखाका अध्यक्ष डा. राजेन्द्र चौधरी सवार गाडीको ठक्करबाट सुनसरीको बर्जु गाउँपालिकामा एक प्रहरीको मृत्यु भएको छ।
सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक केशवकुमार थेवेका अनुसार विराटनगरबाट बर्जुको चिमडीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६२५२ नम्बरको इभी कारले विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लालकुमार यादवको मृत्यु भएको हो। दुर्घटनामा परेर मोटरसाइकल चालक सप्तरीको विष्णुपुर गाउँपालिका–१ घर भएका ५० वर्षीय यादव गम्भीर घाइते भएका थिए।
टाउको र शरीरका विभिन्न भागमा चोट लागेका उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम भर्ना गरिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। यादव जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत थिए।
दुर्घटनामा यादवकी ४७ वर्षीया पत्नी रामपरी यादव घाइते भएकी छन्। उनको दाहिने खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको छ। हाल उनको विराट नर्सिङ होममै उपचार भइरहेको छ।
घटनापछि प्रहरीले ५० वर्षीय रेडियोलोजिस्ट डा. चौधरीलाई नियन्त्रणमा लिएको छ। उनी बर्जु गाँउपालिकास्थित चिमडी बजारमा एक्स–रे गर्नका लागि जाँदै गर्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानम देखिएको प्रहरीले जनाएको छ।







