हरिनास, स्याङ्जा । “समृद्ध हरिनास, सुखी हरिनासवासी” भन्ने दीर्घकालीन सोचलाई आत्मसात गर्दै हरिनास गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४४ करोड २४ लाख रुपैयाँको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले पूर्वाधार विकास, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना र सुशासनलाई केन्द्रमा राखेर विकासको नयाँ कार्ययोजना अघि सारेको हो।

प्रस्तावित बजेटमध्ये चालू खर्च तथा सशर्त कार्यक्रमका लागि ३० करोड ५२ लाख रुपैयाँ विनियोजन गरिएको छ भने भौतिक पूर्वाधार तथा विकास निर्माणका लागि पुँजीगततर्फ १३ करोड ७२ लाख रुपैयाँ छुट्याइएको छ।

गाउँपालिकाले यस वर्ष परम्परागत विकास अवधारणालाई परिमार्जन गर्दै प्रविधि र श्रममा आधारित आधुनिक विकास प्रणालीलाई प्राथमिकतामा राखेको जनाएको छ। कृषि तथा पशुपालनलाई स्थानीय अर्थतन्त्रको प्रमुख आधारका रूपमा स्वीकार गर्दै यान्त्रिकीकरण, व्यावसायीकरण तथा उन्नत बीउ उत्पादनमार्फत उत्पादन र आम्दानी वृद्धि गर्ने लक्ष्य लिइएको छ।

युवालाई वैदेशिक रोजगारीको विकल्पस्वरूप गाउँमै स्वरोजगार बनाउन पशुधन विकास, रोग नियन्त्रण, कृत्रिम गर्भाधान, घाँस तथा आहार सुधारलगायतका कार्यक्रम सञ्चालन गरिने भएको छ। साथै, स्थानीय उद्योग–व्यवसायको प्रवर्द्धन, सहकारी सुशासन र करको दायरा विस्तार गरी आन्तरिक स्रोत सुदृढ बनाउने रणनीति पनि बजेटमा समेटिएको छ।

पूर्वाधार तथा सामाजिक विकासका क्षेत्रमा गाउँपालिकाले महत्त्वाकांक्षी योजनाहरू अघि सारेको छ। “एक घर, एक धारा” अभियानलाई तीव्रता दिँदै स्वच्छ खानेपानी, फोहोर व्यवस्थापन र सुरक्षित आवासलाई प्राथमिकतामा राखिएको छ। सुरक्षित भवन मापदण्डअनुसार सडक, पुल तथा नाली निर्माणका कार्यहरूलाई पनि निरन्तरता दिइने जनाइएको छ।

स्वास्थ्य क्षेत्रतर्फ १५ शैयाको अस्पताललाई सुदृढ बनाउने, डिजिटल स्वास्थ्य प्रणाली लागू गर्ने, निःशुल्क औषधि वितरण तथा मातृ–शिशु स्वास्थ्य सेवाको पहुँच गाउँ–गाउँसम्म विस्तार गर्ने योजना सार्वजनिक गरिएको छ। शिक्षा क्षेत्रमा विद्यालयको भौतिक तथा प्राविधिक सुधार, शिक्षक तालिम र डिजिटल शिक्षण सामग्रीको प्रयोगमार्फत शिक्षालाई सीपमूलक र बालमैत्री बनाउने लक्ष्य राखिएको छ।

नीति तथा कार्यक्रममा महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति तथा विपन्न वर्गको सशक्तीकरणलाई विशेष प्राथमिकता दिइएको छ। समान अवसर, निःशुल्क सेवा तथा अधिकार सुनिश्चित गर्ने कार्यक्रममार्फत सामाजिक समावेशीकरणलाई बलियो बनाइने गाउँपालिकाले जनाएको छ।

यस्तै, प्रशासनिक सेवालाई छिटो, छरितो र पारदर्शी बनाउन डिजिटल शासन र कागजविहीन (पेपरलेस) प्रशासनको अवधारणा पूर्ण रूपमा कार्यान्वयन गरिने घोषणा गरिएको छ। भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउँदै गाउँपालिकाले विपद् व्यवस्थापन, वन तथा वातावरण संरक्षण र दिगो विकासका लक्ष्य हासिल गर्न सबै क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया