स्याङ्जा, असार २३ — स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गामा सञ्चालन गरिएको एकमहिने कटाई–सिलाई तालिम सम्पन्न भएको छ।
गल्याङ नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयद्वारा आयोजित तालिमको समापन कार्यक्रम नगर प्रमुख गुरु प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रम नगर उपप्रमुख हेमा न्यौपानेको अध्यक्षतामा आयोजित गरिएको थियो।
समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने वडा नम्बर १ का वडा अध्यक्ष मणि बस्यालको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टराईले सीपमूलक तालिमले स्थानीय नागरिकलाई स्वरोजगार तथा उद्यमशीलतामा प्रेरित गर्ने बताउनुभयो। नगरपालिकाले यस्ता तालिममार्फत स्थानीय स्तरमा आयआर्जनका अवसर सिर्जना गर्नुका साथै महिला सशक्तीकरणमा टेवा पुर्याउने लक्ष्य लिएको जनाएको छ।
नगरपालिकाका अनुसार सीपमूलक तथा व्यावसायिक तालिमले स्थानीय स्रोत–साधनको उपयोग गर्दै आर्थिक गतिविधि विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।







