सोलुखुम्बु, असार । नेचासल्यान गाउँपालिकाले आर्थिक रूपमा विपन्न तथा लक्षित वर्गमा रहेका ६० वर्षमुनिका एकल महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले बङ्गुर र बाख्रा वितरण कार्यक्रमलाई तीव्रता दिएको छ।

गाउँपालिकाले सञ्चालन गरेको विशेष लक्षित कार्यक्रमअन्तर्गत एकल महिलाहरूलाई पशुपालन व्यवसायतर्फ आकर्षित गर्दै उनीहरूको आयआर्जनमा वृद्धि गर्ने लक्ष्यका साथ बङ्गुर र बाख्रा वितरण गरिएको हो।

पालिकाका अनुसार हालसम्म विभिन्न वडाका लाभग्राहीलाई ४५ वटा बङ्गुरका पाठापाठी र २६ वटा बाख्रा वितरण गरिसकिएको छ। यसअन्तर्गत वडा नम्बर ३ मा ९ वटा बङ्गुर र १७ वटा बाख्रा, वडा नम्बर ४ मा १४ वटा बङ्गुर र २ वटा बाख्रा तथा वडा नम्बर ५ मा २२ वटा बङ्गुर र ७ वटा बाख्रा वितरण गरिएको छ।

गाउँपालिकाले वितरण प्रक्रियालाई थप व्यवस्थित बनाउँदै बाँकी वडाहरूमा समेत कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। यसैक्रममा वडा नम्बर १ मा असार १२ गते वितरण कार्यक्रम सम्पन्न भइसकेको छ भने वडा नम्बर २ मा असार १३ गते वितरण गरिने तालिका तय गरिएको छ।

गाउँपालिकाको यस पहलले न्यून आय भएका तथा एकल जीवन बिताइरहेका महिलाहरूलाई स्वरोजगार र आत्मनिर्भर बन्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। वितरण गरिएका पशुधनको उचित हेरचाह र व्यावसायिक पालनपोषणले लाभग्राही महिलाहरूको आर्थिक अवस्था सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया