काठमाडौँ, असार ८ गते । काठमाडौँ महानगरपालिकाको आयोजनामा असार १० देखि १३ गतेसम्म विद्यालय स्तरीय प्रथम उपमेयर कप खोखो प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा काठमाडौँ महानगरभित्रका विभिन्न १० सामुदायिक विद्यालयका पुरुष र महिलामा गरी १८ टोलीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा काठमार्डौँ महानगरपालिका खोखो सङ्घका अध्यक्ष दीपक महर्जनले जानकारी दिनुभयो ।

नेपाल खोखो सङ्घको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित खोखो हलमा खेलाइने छ । सहभागी टोलीले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्ने छन् ।

कूल ३६ लाख रुपियाँ लगानीमा सञ्चालन हुने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ विजेता टोलीले ५० हजार, उपविजेताले २५ हजार र तेस्रो हुनेले १० हजार रुपियाँ पुरस्कार पाउने छन् । यस्तै वेस्ट रनर र चेजरलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई आगामी राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशबाट खेल्ने मौका प्रदान गरिने सङ्घले जनाएको छ । पत्रकार सम्मेलनमा प्रतियोगिताको लोगो पनि सार्वजनिक गरिएको थियो ।

तपाईको प्रतिक्रिया