कास्की, ८ असार । चोरी तथा डाँका सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ शिवनगर टोल बस्ने सर्लाही लालबन्दी नगरपालिका-१७ घर भएका ३५ वर्षीय भुवन बहादुर साह शंकर र कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ घर भएका ३५ वर्षीय बिराज सुनार रहेका छन् ।
पोखरा महानगरपालिका-१५ मेरिगोल्ड बस्ने मनिसा थापाको घरबाट गत २४ गते सुनका विभिन्न गरगहना र नगद चोरी भएको घटनाको अनुसन्धानको क्रममा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी उक्त कार्यमा संलग्न भुवनलाई प्रहरी प्रभाग काँडाघारी काठमाडौंको सहयोगमा पक्राउ गरेको हो ।
थप अनुसन्धानको क्रममा चोरी गरिएका सुनका गरगहना बिराजलाई बिक्री गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले उनलाई समेत पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट सुन तथा चाँदीका विभिन्न गरगहना र नगद ८१ हजार ५ सय रूपैयाँ समेत बरामद गरेको छ ।
उनी उपर चोरी तथा डाँका सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ६ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।







