काठमाडौं। यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधन दर्ता प्रक्रियालाई आंशिक रूपमा खुलाउने निर्णय गरेको छ। गत जेठ ७ देखि पूर्ण रूपमा अनिश्चितकालका लागि रोक्का गरेको सार्वजनिक सवारीसाधन दर्ता प्रक्रियालाई विभागले आंशिक रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो।
विभागले असार ८ गते देशका सातै प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै दुई सर्त पूरा गरेका सार्वजनिक सवारी दर्ता खुला गरिएको जानकारी गराएको हो।
विभागका अनुसार २०८३ जेठ ८ गतेअघि एलसी खोलिसकी प्रक्रिया अघि बढिसकेका र नेपाल भित्रिसकेका सार्वजनिक सवारी दर्ता गर्न कुनै बाधा पर्ने छैन।

विभागले एलसी खोलिसकेका वा नेपाल भित्रिइसकेका सार्वजनिक सवारीसाधनको कागजात हेरी सोहीअनुरुप देखिए ती सवारी दर्ता गर्न बाधा नपर्ने जानकारी दिएको हो। अर्थात्, जेठ ८ गतेअघि एलसी खोलिएका र नेपाल आइसकेका सार्वजनिक सवारी अब यातायात कार्यालयले आवश्यक कागजात हेरी दर्ता गर्न सक्नेछन्।

‘२०८३÷२÷८ गतेसम्म प्रतीतपत्र (एलसी) खोली सार्वजनिक सवारीसाधन ल्याउन तथा दर्ता प्रक्रिया अघि बढाइसकेका सवारीसाधनका आयातकर्ता कम्पनीलाई सम्बन्धित कागजात पेस गर्न लगाई २०८३÷२÷८ वा सोभन्दा अघि नै प्रतीतपत्र (एलसी) खोलिसकेर प्रक्रिया अघि बढिसकेका साथै नेपाल भित्रिइसकेका सार्वजनिक सवारीसाधनको कागजात हेरी सोहीअनुरूप देखिए ती सार्वजनिक सवारीसाधन दर्ता गर्न कुनै बाधा नपर्ने व्यहोरा निर्णय अनुसार अनुरोध छ,’ विभागको परिपत्रमा उल्लेख गरिएको छ।

गत जेठ ८ गतेपछि एलसी खोलेका सवारी भने दर्ता नहुने विभागले स्पष्ट पारेको छ। अर्को सूचना जारी नभएसम्म सार्वजनिक सवारीको नयाँ दर्ता रोक्का कायमै रहने विभागको भनाइ छ।

तपाईको प्रतिक्रिया