काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पहिलो महाधिवेशन चितवनमा जारी छ। महाधिवेशनमा सबैभन्दा बढी चर्चामा रहँदै आएको विषय हो, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बस्ने रिसोर्ट।
रास्वपाका वरिष्ठ नेता एवं संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनमा रहने कार्यक्रम छ। महाधिवेशनमा सहभागी हुन छोरी र पत्नी सविना काफ्लेसहित चितवन पुगेका प्रधानमन्त्री शाह शक्तिखोरमा रहेको लटौली सेन्चुरी रिसोर्टमा बस्ने छन्।
रिसोर्ट तीन दिनका लागी बुक गरिएको जनाएको छ। प्रधानमन्त्री शाह तीन दिनसम्म बस्ने रिसोर्टबारे अहिले सामाजिक संजालमा चर्चा र परिचर्चा भइरहेको छ।
कस्तो छ रिसोर्ट?
महाधिवेशन उद्घाटन स्थलबाट करिब १६ किलोमिटर टाढा रहेको रिसोर्ट केही महिनाअघि मात्र सञ्चालनमा आएको हो। रिसोर्टमा १६ वटा कोठाहरु छन्। सुइट र डिलक्स रुमहरु रहेको रिसोर्टमा स्विमिङ पुल, स्पालगायत सानो गल्फसमेत सञ्चालनमा रहेको छ।
एउटा सुइट रुममा एक रात बसेको अमेरिकी डलर २२५ अर्थात आइतबारको डलर रेटअनुसार नेपाली ३३ हजार ९०७ रुपैयाँ ५ पैसा रहेको छ। स्थानीय व्यवसायी ज्ञानेन्द्र खडकाले निर्माण तथा सञ्चालनमा ल्याएको रिसोर्टमा प्रधानमन्त्री शाहसहित गृहमन्त्री सुदन गुरुङसहितका नेताहरुको बसाइँ हुनेछ।







