विराटनगर, असार ७ — विराटनगरमा एक युवकले प्रहरी र सुधारगृहका कर्मचारीमाथि चक्कु प्रहार गर्दा तीन जना घाइते भएका छन्।
आइतबार अपराह्न विराटनगर महानगरपालिका–१ स्थित अनुकरण मार्गमा २९ वर्षीय रुबिण कार्कीले प्रहरी र सुधारगृहका कर्मचारीमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका हुन्।
रामेछाप स्थायी घर भएका कार्की विराटनगर–१ मा मोहन भट्टराईको घरमा डेरा गरी बस्दै आएका थिए। उनलाई काठमाडौंस्थित ‘साथीभाइ नेपाल’ सुधारगृह पठाउने तयारी भइरहेका बेला उनले आफूलाई कोठाभित्र थुनेर आत्महत्याको प्रयास गरेको जनाइएको छ। त्यसपछि परिवारको सूचनाका आधारमा प्रहरी घटनास्थल पुगेको थियो।
प्रहरी टोली र सुधारगृहका कर्मचारीले कार्कीलाई सम्झाइबुझाइ गरी कोठाबाट बाहिर निकाल्ने प्रयास गर्दा उनले ओछ्यानमा लुकाएर राखेको चक्कु झिकेर आक्रमण गरेका थिए। आक्रमणबाट सीआरभी भट्टाचोकमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) भोजराज रेग्मी, प्रहरी जवान हिमाल घिमिरे तथा ‘साथीभाइ नेपाल’ सुधारगृहका कर्मचारी सन्तोष सापकोटा घाइते भएका छन्।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार घाइते तीनै जनाको टाउकोमा चोट लागेको छ। उनीहरूको उपचार विराटनगरस्थित नोबेल अस्पतालमा भइरहेको छ। घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







