दुहबी । सुनसरीको दुहबी नगरपालिका ले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ९७ करोड ६६ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९औँ नगरसभा अधिवेशनमा उपप्रमुख मेनुका पोखरेल खतिवडा ले नीति तथा कार्यक्रमसँगै बजेट प्रस्तुत गर्नुभएको हो।
असार ४ गतेदेखि सुरु भएको नगरसभा तीन दिन सञ्चालन भई असार ७ गते सम्पन्न हुने नगरपालिकाले जनाएको छ। नगरसभाको बन्दसत्रमा बजेटमाथि विषयगत रूपमा दफावार छलफल गरी पारित गरिनेछ।
बजेटमा चालु तथा पुँजीगततर्फ ६६ करोड ३६ लाख रुपैयाँ, सङ्घीय सशर्त अनुदानतर्फ २९ करोड १८ लाख रुपैयाँ र प्रदेश सशर्त अनुदानतर्फ एक करोड १२ लाख रुपैयाँ समेटिएको छ।
नगरपालिकाले उद्यम तथा रोजगारी, शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, विपद् व्यवस्थापन र पर्यटनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ। उपप्रमुख खतिवडाले भौतिक पूर्वाधारको विकाससँगै मानव विकासलाई अघि बढाउनुपर्ने बताउँदै मानव विकासबिना नगरको समग्र विकासले पूर्णता नपाउने धारणा राख्नुभयो।
नगरसभामा नगरपालिकामा कार्यरत १२ जना कर्मचारीलाई नगदसहित सम्मान गरिएको छ। विपद् तथा फोहरमैला व्यवस्थापनमा खटिएका चार जना सवारीचालकलाई ‘नगरप्रमुख पुरस्कार’बाट सम्मान गरिएको थियो।
उत्कृष्ट कार्यशैली, इमान्दारिता र सेवाका आधारमा कृषि अधिकृत अजय गौतम, सब–इन्जिनियर अर्जुन देव र संजय चौधरी, जनस्वास्थ्य निरीक्षक सङ्गीता चौधरी, कार्यालय सहयोगी मीना बस्नेत तथा नगर स्थापना कालदेखि कार्यरत लेखापाल पशुराम माझीलाई सम्मान गरिएको छ। योजना शाखा प्रमुख डम्बरबहादुर बजगाईंलाई अवकाश प्राप्त गरेकाले सम्मानपूर्वक बिदाइ गरिएको नगरपालिकाले जनाएको छ।
नगरसभालाई सम्बोधन गर्दै नगरप्रमुख वेद नारायण गच्छदार ले आफ्नो नौ वर्षे कार्यकालमा विकासका काम गर्दा केही नागरिक असन्तुष्ट हुनु स्वाभाविक भएको बताउनुभयो। अधिकांश नगरवासी भने विकासका कामबाट सन्तुष्ट रहेको आफूले महसुस गरेको उहाँको भनाइ थियो।
नगरप्रमुख गच्छदारले नागरिकबाट आएका सुझाव, आलोचना, आरोप–प्रत्यारोप र गुनासोलाई जिम्मेवारी तथा दायित्वका रूपमा लिएको बताउनुभयो। उहाँले २०७४ सालमा पहिलोपटक निर्वाचित भएर आउँदा धेरै वडामा व्यवस्थित वडा कार्यालय तथा स्वास्थ्यचौकी भवन नभएको उल्लेख गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउन भवन निर्माणमा प्राथमिकताका साथ लगानी गरिएको बताउनुभयो।
सङ्घीय सरकारले स्थानीय तहमा सीमित बजेट पठाउँदा स्थानीय सरकारलाई जनतामाझ अलोकप्रिय बनाउने अवस्था सिर्जना भएको उहाँको आरोप थियो। उहाँले जोखिम नलिई विकासको गति अघि बढ्न नसक्ने बताउँदै विभिन्न सङ्घसंस्थाको सहकार्यमा युवालाई उद्यमशीलता तालिम दिई स्वरोजगार बनाउने योजना रहेको जानकारी दिनुभयो।
भारत सरकारको सहयोगमा फोहरमैला व्यवस्थापनको काम चाँडै अघि बढाइने पनि उहाँले बताउनुभयो। नगरको भौतिक विकास भए पनि दलित समुदायकी छोरी विद्यालय जानबाट वञ्चित भए विकासको अर्थ नहुने उल्लेख गर्दै आगामी आर्थिक वर्षमा दलित छात्रालाई शिक्षाबाट वञ्चित हुन नदिने प्रतिबद्धता जनाउनुभयो।
नगरप्रमुख गच्छदारको अध्यक्षतामा १९औँ नगरसभाको उद्घाटन भएको हो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे ले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा कार्यपालिका सदस्य, वडा अध्यक्ष, वडा सदस्य तथा विभिन्न शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
दुहबीको बजेट ९७ करोड ६६ लाख, कर्मचारी सम्मानदेखि दलित छात्रा शिक्षासम्मका कार्यक्रम







