विराटनगर : मोरङको रंगेलीबाट ठूलो परिमाणको लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतको बिहारस्थित अररिया जिल्लाको सिक्टी थाना आँपगाछी पञ्चायत–१४ घर भएका २५ वर्षीय अभिषेककुमार मण्डल पक्राउ परेका हुन् ।

बोरामा पोको पारी भारतीय नम्बर प्लेटको मोटरसाइकलमार्फत ठूलो परिमाणको लागुऔषध लिएर नेपाल प्रवेश गरेका उनलाई इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर अशोककुमार झा नेतृत्वको टोलीले आइतबार राति ८:३० बजेतिर पक्राउ गरेको हो ।

बीआर ३८ एएच ८७९८ नम्बरको मोटरसाइकलमा सवार मण्डललाई रंगेली नगरपालिका–५ भेडुवाथानमा रोकेर चेकजाँच गरिएको थियो ।

प्रहरीले शंका लागेपछि नियन्त्रणमा लिन खोज्दा मण्डल फरार हुने प्रयास गरेका थिए । तर प्रहरीले नियन्त्रणमा लिएर मोटरसाइकलको पछाडि राखिएको बोरा खानतलासी गर्दा ठूलो परिमाणमा लागुऔषध फेला परेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।

उनका अनुसार बोराबाट ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ३ हजार ५० पत्ता फेला परेको थियो । एक पत्तामा १० क्याप्सुल हुन्छ । यसअनुसार कुल ३० हजार ५ सय क्याप्सुल ट्रामाडोल हाइड्रोक्लोराइड बरामद भएको डीएसपी मिश्रले जानकारी दिए ।

बरामद लागुऔषध र मोटरसाइकलसहित मण्डललाई इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ । उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार मण्डल लामो समयदेखि भारतीय भूमिबाट नेपालमा लागुऔषध आपूर्तिमा संलग्न रहेको खुलेको छ । अहिले उनी नेपालमा ‘सप्लायर्स’लाई लागुऔषध पुर्‍याउन आउँदै गर्दा पक्राउ परेका हुन् ।

प्रहरीले यो घटनामा ठूलो गिरोह संलग्न हुन सक्ने आशंका गर्दै थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया