गल्याङ । “दिगो विकास, व्यवस्थित शहर, स्वच्छ, सफा गल्याङ नगर” भन्ने मूल नारासहित गल्याङ नगरपालिकाले नगरभित्र कार्यरत शिक्षकहरूका लागि व्यवहारिक तथा उत्प्रेरणात्मक ‘नगर उपप्रमुखसँग शिक्षक’ कार्यक्रम–२०८३ सम्पन्न गरेको छ।
शनिबार गल्याङ नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रम नगर प्रमुख गुरु प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भट्टराईले शिक्षकहरू समाज रूपान्तरणका प्रमुख संवाहक भएको उल्लेख गर्नुभयो। उहाँले बदलिँदो समय र प्रविधिको विकाससँगै शिक्षण पद्धतिलाई थप व्यवहारिक, सिर्जनशील तथा विद्यार्थीमैत्री बनाउन आवश्यक रहेको बताउनुभयो। स्थानीय सरकारले शिक्षाको गुणस्तर अभिवृद्धिलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले शिक्षकहरूको क्षमता विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको अध्यक्षता नगर उपप्रमुख हेमा न्यौपानेले गर्नुभएको थियो। उपप्रमुख न्यौपानेले गुणस्तरीय शिक्षा निर्माणमा शिक्षकहरूको भूमिका महत्वपूर्ण हुने बताउँदै शिक्षकहरूको अनुभव, सुझाव तथा आवश्यकतालाई स्थानीय सरकारसँग जोड्ने प्रयास भइरहेको जानकारी दिनुभयो।
उहाँले शिक्षामा देखिएका चुनौतीहरूको समाधानका लागि शिक्षक र स्थानीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाइने उल्लेख गर्नुभयो। साथै, निरन्तर संवाद, सहकार्य र अनुभव आदानप्रदानमार्फत नगरको शैक्षिक क्षेत्रलाई थप सुदृढ र प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा नगरभित्रका विभिन्न विद्यालयमा कार्यरत शिक्षकहरूको सहभागिता रहेको थियो। सहभागी शिक्षकहरूले शिक्षण सिकाइ प्रक्रियामा देखिएका चुनौती, अनुभव तथा सुझावहरू प्रस्तुत गरेका थिए।







