उर्लाबारी / १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा उर्लाबारीमा विशेष कार्यक्रम आयोजना गरी दिवस मनाइएको छ।
कार्यक्रमको अध्यक्षता पतञ्जली योग समिति उर्लाबारी नगर समितिका अध्यक्ष मणिलाल श्रेष्ठले गरेका थिए। कार्यक्रममा पतञ्जली योग समिति मोरङका अध्यक्ष जयधर्म आचार्य प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा योगीहरु योगेश निरौला, चन्द्र राई, रुद्रबहादुर अधिकारी, ओमप्रसाई तथा दिलकुमारी लामा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
त्यसैगरी नगर अध्यक्ष जुनिता सुवेदी, पूर्व नगर अध्यक्ष नित्यनन्द भट्टराई, रमा थापा खड्का, पूर्व जिल्ला सदस्य कविता श्रेष्ठ, नेत्रप्रसाद पौडेल, प्रेम कार्की, लिला गुरागाईं, दुर्गा पौडेल, गीता बुढाथोकी, अच्युत भण्डारी तथा ज्ञानेन्द्रप्रसाद आचार्यलगायत विभिन्न सामाजिक, धार्मिक तथा साधना केन्द्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
दिवसका अवसरमा योगको महत्व, स्वस्थ जीवनशैलीमा यसको भूमिका तथा मानसिक र शारीरिक स्वास्थ्य प्रवर्द्धनमा योगले पुर्याउने योगदानबारे चर्चा गरिएको थियो। सहभागीहरूले नियमित योग अभ्यासले व्यक्तिको जीवनलाई सकारात्मक, अनुशासित र स्वस्थ बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा विभिन्न साधना केन्द्रका साधक–साधिकाहरू, सामाजिक संघसंस्थाका प्रतिनिधि तथा स्थानीयको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। योग अभ्यास तथा सचेतनामूलक कार्यक्रमसहित सम्पन्न भएको उक्त कार्यक्रमले समुदायमा योगप्रति थप आकर्षण र जागरण फैलाउन मद्दत पुग्ने योगी आचार्यले बताएका छन् ।
उर्लाबारीमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस सम्पन्न







