सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा बढ्दो फोहर व्यवस्थापनका लागि ड्रोन प्रविधिको प्रयोग प्रभावकारी बन्दै गएको छ। सगरमाथाको क्याम्प–१ क्षेत्रबाट हालसम्म २ सय ८६ केजी फोहर ड्रोनमार्फत सङ्कलन गरिएको छ।
फोहर सङ्कलन अभियानमा संलग्न एयरलिफ्ट टेक्नोलोजीका निर्देशक मिलन पाण्डेका अनुसार प्रयोग गरिएका अत्याधुनिक ड्रोनले प्रतिघण्टा करिब १५ मिटर प्रतिसेकेन्डको गतिमा उड्न सक्ने तथा माइनस १५ डिग्री सेल्सियससम्मको कठोर मौसममा पनि सफलतापूर्वक काम गर्न सक्ने क्षमता राख्छन्।
उनले सगरमाथाको माथिल्लो क्षेत्रबाट फोहर ढुवानी गर्न विगतमा मानव श्रममार्फत ६ देखि ७ घण्टासम्म लाग्ने गरेकोमा अहिले ड्रोनको प्रयोगले उक्त कार्य एकदेखि दुई मिनेटमै सम्पन्न गर्न सम्भव भएको बताए। उनका अनुसार सगरमाथा प्रदूषण नियन्त्रण समिति र खुम्बु पासाङल्हामु गाउँपालिकाको सहकार्यमा फोहर व्यवस्थापन अभियान सञ्चालन भइरहेको छ।
साइमेक्स इङ्कका बजार प्रमुख समिर श्रेष्ठले यस आरोहण याममा थप फोहर सङ्कलन गर्ने अभियान निरन्तर जारी रहेको जानकारी दिए। जलवायु परिवर्तनविरुद्धको अभियानमा आधुनिक प्रविधिको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले ड्रोन प्रयोगपछि फोहर व्यवस्थापन कार्य सहज र प्रभावकारी बनेको बताए।
नेपाल पर्वतारोहण सङ्घका प्रथम उपाध्यक्ष तथा चर्चित आरोही मिङ्मा डेभिड शेर्पाले आरोहीहरूले सगरमाथामा छाड्ने फोहरका कारण पछिल्ला वर्षमा समस्या जटिल बन्दै गएको बताए। उनले फोहर सङ्कलनमा ठूलो आर्थिक लागत र मानवीय जोखिम रहने भएकाले ड्रोन प्रविधिले महत्वपूर्ण राहत प्रदान गरेको धारणा व्यक्त गरे।
विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालको पर्यटन, अर्थतन्त्र र राष्ट्रिय पहिचानको प्रमुख आधार मानिन्छ। तर, पछिल्ला वर्षहरूमा पर्यटक तथा आरोहीको बढ्दो चापसँगै हिमाली क्षेत्रमा फोहरको मात्रा वृद्धि हुँदा वातावरणीय सन्तुलन र हिमाली पारिस्थितिकीय प्रणालीमा चुनौती थपिएको छ।
यही चुनौती न्यूनीकरण गर्ने उद्देश्यले विद्युतीय सवारी साधन निर्माता बिवाइडीको नेपालस्थित आधिकारिक वितरक साइमेक्स इङ्कले नेपाली ड्रोन कम्पनी एयरलिफ्ट टेक्नोलोजीसँग सहकार्य गरी ड्रोनमार्फत फोहर सङ्कलन अभियान सञ्चालन गरिरहेको जनाएको छ।
कम्पनीका अनुसार सगरमाथा क्षेत्रबाट कुल एक हजार केजी फोहर सङ्कलन गर्ने लक्ष्य राखिएको छ। बिवाइडीले विश्वव्यापी रूपमा सञ्चालन गरिरहेको ‘कूल द अर्थ बाइ वान डिग्री’ अभियानअन्तर्गत नेपालमा पनि यो कार्यक्रम अघि बढाइएको हो। अभियानले स्वच्छ ऊर्जाको प्रवर्द्धन तथा शून्य कार्बन उत्सर्जनमार्फत जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने लक्ष्य लिएको छ।
साइमेक्स इङ्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले आर्थिक तथा प्राविधिक दुवै सहयोग प्रदान गर्दै आएको बताए। सगरमाथा संरक्षण र जलवायु परिवर्तन न्यूनीकरणमा ठोस योगदान पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको उनको भनाइ छ।







