काठमाडौं। आर्कषक सेवा सुविधाको प्रलोभन देखाई ग्रीस र जापान पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको अभियोगमा २ जनालाई काठमाडौंबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगर ३ बस्ने लक्ष्मी थापा कार्की र बूढानीलकण्ठ ८ बस्ने प्रिया बानियाँ रहेका छन्। पक्राउमध्ये लक्ष्मीले ग्रीस पठाइदिन्छु भन्दै एकजनासँग ११ लाख ५० हजार लिएको पाइएको छ।
यस्तै, प्रियाले जापान पठाइदिन्छु भन्दै एक पीडितबाट दुई लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले खोज तलास गरेको थियो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।







