मोरङ – कोशी प्रदेश सरकारले प्रदेशका विभिन्न ६ वटा पालिकामा नवप्रवर्धन साझेदारी परियोजनाअन्तर्गत ६ करोड ४३ लाख ३५ हजार रुपैयाँ बराबरको नयाँ कार्यक्रम सुरु गरेको छ।
कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रप्रसाद पौडेलका अनुसार परियोजना अन्तर्गत इलामको रोङ गाउँपालिका धनकुटाको धनकुटा नगरपालिका, मोरङको सुन्दर हरैचा नगरपालिका, खोटाङको खोटेहाङ गाउँपालिका र ओखलढुंगाको लिखु पिके गाउँपालिकामा यो कार्यक्रम सुरु गर्ने गरी समझदारी भएको छ।
प्रमुख सचिव पौडेलले सम्झौता अनुसार इलामको रोङ गाउँपालिकामा रोङ उद्यमशीलता र कृषि व्यवसाय सम्बर्धन परियोजनाका लागि १ करोड ५० लाख रकम खर्च हुनेछ।
त्यसैगरी, धनकुटा नगरपालिकामा डिजिटल स्थानीय आर्थिक सर्वेक्षण र स्थानीय ई मार्केटिङ परियोजनामा १ करोड ६५ लाख रुपैयाँ खर्च हुने उनले जानकारी दिए। सम्झौता कार्यक्रममा प्रमुख सचिव पौडेलले मोरङको सुन्दर हरैचा नगरपालिकामा सुशासनसहितको समृद्धिका लागि प्रविधि कार्यक्रममा १ करोड २६ लाख७५ हजार रुपैयाँमा सञ्चालन हुने बताए। सम्झौता अनुसार भोजपुरको सडानन्द नगरपालिकामा प्रविधिमा आधारित शिक्षा कार्यक्रम सञ्चालनका लागि हुनेछ।
सम्झौता अनुसार खोटाङको खोटेहाङ गाउँपालिकामा गुणस्तरीय स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत ६० लाख रुपैयाँ र लिखुपिके गाउँपालिकाम डिजिटल शिक्षा विकास र साक्षरता कार्यक्रमअन्तर्गत ७७ लाख ६० हजार खर्च हुने बताइएको छ।
सम्झौता गरिएका कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी अन्तर्गत रहेको प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम र स्थानीय पालिकाको साझेदारीमा हुनेछन्। सम्झौता कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिको उपस्थिति थियो।







